काठमाडौँ / नेपाल रेडक्रस सोसाइटीले रेडक्रसको मर्म र मर्यादाविपरीत हुने गतिविधि नगर्न आग्रह गरेको छ ।
केन्द्रीय तदर्थ समितिको वैधानिकता सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेका अवस्थामा अघिल्लो तदर्थ समितिलाई सोसाइटीले यस्तो आग्रह गरेको हो ।
अघिल्लो तदर्थ समितिका अध्यक्ष डा. नेत्रप्रसाद तिम्सिना र सदस्य बाबुराजा महर्जन लगायत केही व्यक्तिहरूले केन्द्रीय कार्यालयमा तोडफोड गरेका थिए ।
रेडक्रस सोसाइटीको केन्द्रीय तदर्थ समितिको वैधानिकता सम्बन्धी मुद्दा सम्मानित सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा पुनः यस प्रकारको गतिविधि नगर्न सोसाइटीका कार्यकारी निर्देशक उमेशप्रसाद ढकालले आग्रह गरेका हुन् ।
ढकालले डा. तिम्सिनाको नेतृत्वले संस्थाको ‘लेटरहेड’ तथा छाप अनधिकृतरूपमा प्रयोग गर्दै सङ्कटासन्न समुदाय प्रति लक्षित कार्यक्रममा सहयोग नगर्न विभिन्न निकायमा पत्राचार गर्ने, बैंक खाता सञ्चालनमा अवरोध गर्न पत्राचार गर्ने, नियमनकारी र संस्थाका अधिकारीलाई अमर्यादित तवरबाट आक्षेप गर्ने गरेको आरोप लगाएका छन् ।
यस प्रकारको गतिविधि तत्काल बन्द गर्न उनले आग्रह समेत गरेका छन् ।