काठमाडौँ / पछिल्लो समय सरकारले स्वचालित मूल्य प्रणाली लागू गरसँगै पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएपछि कठिनाइ खेपीरहेका सर्वसाधारण बजारमा ग्यासको अभावका कारण थप समस्यामा परेका छन् ।

स्वचालित मूल्यको हल्ला चलेपछि व्यापार घाटामा जाने संकेत पाएका व्यवसायीले भारी मूल्यमा ग्यास बिक्री गर्नलाई तत्काल ग्यास लुकाउन थालेपछि बजारमा ग्यासको अभावले उपभोक्तालाई समस्यामा पारेको हो । 

OM Sai Pathibhara Hospital

व्यवसायीले ग्यास लुकाउन थालेपछि बजारमा ग्यासको अभावले सर्वसाधारणले ग्यास पाउन एक साता कुर्नुपर्ने अवस्था आएको छ । 

अर्थमन्त्री जनार्दन शर्माले इन्धनको मूल्यमा पूर्ण रूपमा स्वचालित मूल्य प्रणाली लागू गर्ने निर्देशन दिएपछि नै व्यवसायीले ग्यास लुकाएका कारण बजारमा दुई सातादेखि नै ग्यासको अभाव देखिएको छ । 

हाल प्रतिसिलिन्डर १६ सय रुपैयाँ रहेको ग्यासको मूल्य पूर्ण स्वचालित मूल्य लागू भएपछि प्रतिसिलिन्डर साढे २५ सय रुपैयाँ पर्ने भएको छ । 

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले स्वचालित मूल्य प्रणालीका कारण पनि मूल्य बढ्ने भएपछि डिलर र व्यवसायीले ग्यास लुकाएको बताएका छन् ।

तर सरकारको निर्देशनको आधारमा व्यावसायीले ग्यास लुकाएर राखेपछि उपभोक्ताले अभाव भोग्नु परेको छ । 

स्वचालित मूल्य प्रणालीका कारण अभाव निम्तिएको वजारमा भने अभाव र नागरिकको समस्याको विषयमा सरकारले केही पनि आवश्यक पहल गर्न सकेको छैन । .

गोप्य रुपमा डिलरले स्टकमा रहेको ग्यास पनि लुकाएको पाइएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका सूचना अधिकारी धनेश्वर पौडेलले जनाएका छन् । 

त्यस्तै , अर्को तर्फ ग्यास अभाव हुनुको अर्को कारण उद्योगीको आन्दोलन पनि रहेको जानकारहरूले बताउँदै आएका छन् ।

स्वचालित भाडा कायम गर्न माग गर्दै एलपी ग्यास उद्योग संघ र नेपाल पेट्रोलियम डिलर्स एसोसिएसन, ढुवानी व्यवसायी र उद्योगीले चैत ६ मा निगमबाट ग्यासको पीडीओ नउठाएपछि ग्यासको अभाव अझ बढेको हो । 

उनीहरूले भारतका सबै रिफाइनरीबाट एलपी ग्यास लोड बन्द गर्दै नाकाबाट भन्सार पनि नछुटाएपछि सर्वसाधारण समस्यामा परेका छन् । 

चैत १७ मा ग्यास उद्योगबाट बिक्रेतालाई बिक्रीवितरण बन्द गरेका कारण आपूर्ति प्रणाली बिग्रियो जसका कारण बजारमा अभाव देखिए छ ।

निगमको एलपीजी तथा एभिएसन विभाग प्रमुख काफ्ले पनि दुई साताअघिको हडतालले बजारमा समस्या भएको बताउँछन् । 

महिनामा करिब ३० लाख सिलिन्डरको आवश्यकता हुने भएपछि १० दिन मात्र ढुवानी बन्द गर्दा पनि सामान्य अवस्थामा आउन थप २० लाख सिलिन्डर ग्यास चाहिने छ । 

ग्यास बिक्रेता महासङ्घका कोषाध्यक्ष राजेश दाहालले विशेष गरी नेपाल, बाबा, राजधानी, एचपी, लुम्बिनी, ओम, भानु र श्रीराम ग्यास अभाव देखिएको बताएका छन् ।

महासङ्घका अध्यक्ष ज्ञानेश्वर अर्यालले पनि ग्यास आयात नै कम भएको दाबी गरेका छन् । सरकारले बजार नियमन गर्न नसक्दा झन् थप अभाव देखिएको उनको भनाइ रहेको छ । 

महिनामा ३७ हजार टन मात्रै आयात हुँदा अभाव भएको निगमका प्रवक्ता विनीतमणि उपाध्यायले बताएका छन् भने यो महिना ५० हजार टन पीडीओ दिने समेत उनले जानकारी दिएका छन् ।