काठमाडौं / बैंकहरू कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशतभन्दा पनि माथि पुगेपछि बैंकहरू कर्जा लगानी गर्नै नसक्ने अवस्थामा पुगेका छन् । सीडी रेसियो अधिकतम भएपछि १८ वटा वाणिज्य बैंकहरू कर्जा लगानी गर्न नसक्ने अवस्थामा पुगेका हुन् ।   

सबैभन्दा बढी सीडी रेसियो भएको प्राइम कमर्सियल बैंकको ९९ दशमलब ६२ प्रतिशत सीडी रेसियो रहेको छ भने नेपाल एसबिआई बैंकको सीडी रेसियो ९५ दशमलब ३५ प्रतिशत छ ।

OM Sai Pathibhara Hospital

बैंक अफ काठमाण्डुको ९४ दशमलब ६७ प्रतिशत, मेगाको ९४ दशमलब ४५ प्रतिशत, सेञ्चुरीको ९३ दशमलब ५७ प्रतिशत, ग्लोबल आईएमईको ९३ दशमलब ०७ प्रतिशत, कृषि विकासको ९२ दशमलब ५१ प्रतिशत र नेपाल इन्भेष्टमेन्ट बैंकको ९२ दशमलब ४३ प्रतिशत सीडी रेसियो पुगेको छ ।

यस्तै, ९१ र ९० प्रतिशतको हाराहारीमा सीडी रेसियो हुने बैंकहरूमा सनराइज बैंक, हिमालयन, एभरेष्ट, कुमारी नबिल, नेपाल बंगलादेश, सिटिजन्स, एनएमबी, नेपाल बैंक र सिभिल बैंक रहेका छन् ।

नेपाल राष्ट्र बैंकले बैंकहरूको सीडी रेसियो अधिकतम ९० प्रतिशत हुनु पर्ने व्यवस्था गरेको भएपनि नौ वटा वाणिज्य बैंकहरूको मात्र सीडी रेसियो ९० प्रतिशतभन्दा कम रहेको छ । 

सबैभन्दा कम सीडी रेसियो हुने मध्ये अग्रस्थानमा रहेको प्रभु बैंकको सीडी रेसियो ८२ दशमलब ११ प्रतिशत रहेको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंकको ८२ दशमलब ६९ प्रतिशत, एनआईसी एसियाको ८६ दशमलब १८ प्रतिशत, सानिमाको ८७ दशमलब २२ प्रतिशत, लक्ष्मीको ८७ दशमलब २४ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ८८ दशमलब १७ प्रतिशत, माछापुच्छ्रेको ८९ दशमलब १३ प्रतिशत, एनसीसीको ८९ दशमलब १४ प्रतिशत र सिद्धार्थ बैंकको ८९ दशमलब ७८ प्रतिशत सीडी रेसियो रहेको छ ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत कर्जा–पुँजी–निक्षेप अनुपात (सीसीडी रेसियो) खारेज गरेर कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) लागू गरेको थियो ।

नेपाल राष्ट्र बैंकले सीडी रेसियो अधिकतम ९० प्रतिशत हुनु पर्ने व्यवस्था गरेसँगै बैंकहरू असारसम्म ९० प्रतिशतभित्र पुर्याउने कसरतमा रहेका छन् ।