बिर्तामोड / प्रदेश १ का विभिन्न शहरहरूमा बम विस्फोट गराउने हिमाल सुरक्षा परिषदका कार्यकर्तालाई पक्राउ गरि कानूनी कारबाहीको दायरामा ल्याउन सफल भएको भन्दै प्रदेश १ प्रहरी कार्यालय विराटनगरले दुई जना प्रहरीलाई नगद पुरस्कारद्धारा पुरस्कृत गरेको छ । 

प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी नायब निरीक्षक (डीएसपी) राजेन्द्र चौहान र इलाका प्रहरी कार्यालय इटहरीमा कार्यरत प्रहरी सहायक हबलदार सम्बर बहादुर तिवारीलाई नगद पुरस्कारद्धारा पुरस्कृत गरेको हो । 

OM Sai Pathibhara Hospital

पुरस्कार स्वरुप चौहानले नगद १२ सय र तिवारीले नगद १ हजार रुपैयाँ पाएका छन् । बम बिस्फोट गराई सर्वसाधारणलाई त्रसित बनाउने हिमाल सुरक्षा परिषदका कार्यकर्ता तथा योजनाकारलाई पक्राउ गरि सफल अनुसन्धान गरेकोमा उनीहरूलाई सम्मान गरिएको  प्रदेश प्रहरी कार्यालय विराटनगरका डीआईजी अरुण कुमार बिसीले जानकारी दिए । 

बिसीका अनुसार चौहान र तिवारीले गत माघ १० गते झापाको बिर्तामोड बसस्टेण्डमा विस्फोटक पदार्थ राख्ने र चैत्र १४ गते सुनसरीको इटहरी २ मा बम बिस्फोट गराउने हिमाल सुरक्षा परिषदका कार्यकर्तालाई पक्राउ गरि कानूनी कारबाहीको दायरामा ल्याउन सफल भएका थिए । 

दुवैको उत्कृष्ट कार्यको उच्च मूल्यांकन गदै प्रहरी नियमावली २०७१ को नियम ११७ को देहाय (ख) बमोजिम अभिलेखमा नाम दर्ज हुनेछ ।  प्रदेश प्रहरीले पुरस्कृत दुवैको अभिलेख राष्ट्रिय किताबखाना प्रहरी लैनचौर पठाउने छ ।

गत चैत्र १४ गते इटहरीमा ‘मिस हेन्डल’ को कारण भएको बम विस्फोटको घटनामा संलग्न हिमाल सुरक्षा परिषदको मुख्य योजनाकार खगेन्द्र खरेलसहित ४ जनालाई संयुक्त अनुसन्धान टोलीले झापाबाट पक्राउ गर्न सफल भएको थियो । यस अघि झापा प्रहरीले बिर्तामोडमा बम राख्ने ९ जनालाई पक्राउ गरिसकेको छ ।