काठमाडौँ / काठमाडौँको पेप्सीकोलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने, एकजना घाइते भएका छन् । मृत्यु हुनेमा कालीकोट तिलागुफा नगरपालिका घर भई कोटेश्वर बस्दै आएका २० वर्षीय धर्मेन्द्र बम रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।
प्रवक्ता मैनालीका अनुसार बिहीबार राति बमले चलाएको बा ३९ प ५१८० नम्बरको मोटरसाइकल जडीबुटीबाट पेप्सीकोला जाने क्रममा रोकिराखेको बा २१ च ८८९५ नम्बरको जिपमा ठोक्किएको थियो ।
मोटरसाइकलमा पछाडि सवार कैलालीका १८ वर्षीय घाइते जगदिश शाहीको काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको प्रहरी उपरीक्षक मैनालीले बताए । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।