बिर्तामोड / नेपालमा आर्थिक संकट निम्तिएका बेला त्यसलाई नियन्त्रण गर्न राष्ट्र बैंकले अनेक उपाय लगाइरहेको समयमा सङ्कटको फाइदा उठाउँदै व्यापारीले उपभोक्ता र किसानलाई नै भार पर्ने गरि नाफा कमाउन थालेका छन् । राष्ट्र बैंकले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्दै आयात नियन्त्रण गर्न शत प्रतिशत मार्जिनको व्यवस्था गरेपछि शत प्रतिशत मार्जिन देखाएर भारी मूल्यमा केरा बिक्री गर्दै नाफा कमाउन थालेका हुन् । 

राष्ट्र बैंकको निदेर्शनको फाइदा उठाउँदै उपभोक्ता र किसान दुवै समस्यामा पर्ने गरि व्यापारीले स्वदेशी केरा दर्जनको ६० रुपैयाँमा किनेर दुई सय रुपैयाँसम्म बिक्री गरेको पाइएको छ । केरा उत्पादनको बलियो क्षेत्र मानिने चितवनमा अहिले मालभोग केरा कोसाको ५ रुपैयाँ र हरियो केरा प्रति कोसा ३ रुपैयाँमा बिक्री भइरहेको छ। 

OM Sai Pathibhara Hospital

आफुहरुले अघिल्लो वर्ष कै मूल्यमा केरा बेचिरहँदा व्यापारीले बजारमा लगेर दुई सय रुपैयाँ दर्जनमा सम्म बिक्री गरेको पाउदा अचम्ममा परेको चितवन केरा व्यवसायी संघका पूर्वअध्यक्ष घनश्याम महतोले बताएका छन् । व्यापारीले स्वदेशी केरा कम गुणस्तरको हुने भन्दै सस्तो मूल्यमा उठाउँदै बजारमा लगेर भारी मूल्यमा बिक्री गरेपछि किसान समस्यामा परेको समेत महतोले बताएका छन् । 

वैशाखदेखि भदौसम्म स्वदेशी केराले बजारको माग ८० प्रतिशतसम्म धान्छ भने २० प्रतिशत भारतीय केरा आयात गर्नुपर्ने हुन्छ । भन्सार विभागका अनुसार आठ महिनाको अवधिमा एक अर्बभन्दा बढीको केरा आयात भएको छ । 

स्वदेशी केराको मूल्य कम भएकै कारण केरा खेती लगाउने किसान निरुत्साहित हुँदै आएका छन् । किसानले उचित मूल्य पाउने हो भने केरा उत्पादन बढ्ने र त्यसले आयात नियन्त्रण गर्न ठूलो टेवा पुग्ने एक किसानको भनाई छ ।

सबैभन्दा धेरै केराखेती भएको चितवनमा यो वर्ष ३५ सय बिघामा केराखेती लगाइएको छ भने गत वर्ष तीन हजार बिघामा मात्रै केरा खेती थियो । संघका पूर्वअध्यक्ष घनश्याम महतोले यो वर्ष ६५ हजार टन केरा उत्पादन हुने अनुमान रहेको बताएका छन् । गत आर्थिक वर्षमा करिब ५० हजार टन केरा उत्पादन भएको थियो ।

व्यापारीको नाफा मात्रै कमाउने प्रवित्तिका कारण समस्यामा परेका केरा खेती गर्ने किसानलाई हतोत्साहित नगर्न यस्तो प्रचलनलाई रोक्न सरकारले पहल गर्नुपर्ने देखिन्छ । कृषि प्रदान देश भएकाले पनि ठुलो परिणाममा केरा उत्पादनको सम्भावना बोकेको हाम्रो देशको परनिर्भरता र आयात दुवै घटाउन यसलाई समाधान गर्दा नै फलदायी र प्रभावकारी हुने देखिन्छ ।