बिर्तामोड / विश्वका अधिकांश मुलुकमा प्रतिबन्धित गरिएको क्रिप्टो कारोबार नेपाल सरकारले पनि गैरकानुनी मान्दै त्यसमा लगानी नगर्न आग्रह गरेपनि दिन प्रतिदिन बढ्दै यसको कारोबारी गएका छन् । ब्लकचेनमा आधारित भएर विकेन्द्रित प्रणालीबाट परिचालन हुने गरेको क्रिप्टो कारोबार नगर्न देश लगायत विदेशका नेपाली नागरिकलाई नेपाल राष्ट्र बैंकले निर्देशन दिएको भएपनि क्रिप्टो कारोबारी हरेक दिन बढ्दै गएका छन् । 

क्रिप्टो कारोबारलाई नियन्त्रण र केन्द्रिकरण गर्ने कुनै पनि नियामक निकाय नभएकाले यसमा लगानी गरेको पुँजी असुरक्षित हुने मानिदै यसलाई नेपालमा पनि प्रतिबन्धित गरिएपनि यसका कारोबारी हरेक घण्टामा बढि नै रहेका छन् । युवाहरूका लागि प्रेरणा बन्दै आएका विश्वका धनाड्य एवम् ठूला उद्यमीहरूको लगानी क्रिप्टोमा भएकाले पनि धेरै रकमको प्रलोभनमा परेर युवाले यसमा चासो र लगानी गर्ने गरेका छन् । 

OM Sai Pathibhara Hospital

नेपालमा पछिल्लो समय विशेषत २० देखि ३० वर्ष उमेर समूहकालाई प्रहरीले क्रिप्टो कारोबारमा संलग्न रहेको भन्दै धमाधम पक्राउ गरिरहेको छ । महानगरीय अपराध महाशाखा काठमाडौँले भर्खरै काठमाडौंको नयाँबजार खुशिबु स्थित प्राइम कलेजमा बीबीएस अध्ययनरत २२ वर्षीय अनुप मिश्रलाई ३५ करोड रुपैयाँभन्दा माथिको क्रिप्टो कारोबार गरेको पाएपछि पक्राउ गरेको छ । 

कोठाभाडामा बसेर पढ्ने मिश्रको आर्थिक कारोबार अस्वाभाविक देखिएपछि प्रहरीले आशंका गरेर अनुसन्धान गर्दा क्रिप्टोमा लगानी गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । त्यस्तै , शनिबार र आइतबार महाशाखाले अनुपसँगै काभ्रेपलान्चोकका २४ वर्षीय दिनेश थापा र काठमाडौंको बाफल बस्ने २७ वर्षीय राहुल चचानलाई समेत क्रिप्टोमा लगानी गरेको पाइएपछि पक्राउ गरेको थियो ।

प्रहरीका अनुसार दिनेशले २४ करोड ७९ लाख ५६ हजार रुपैयाँ र राहुलले ६ करोड ५३ लाख रुपैयाँ कारोबार गरेको खुलेको छ । उनीहरूले एक वर्षमा ६६ करोड ७९ लाख ७९ हजार ९६३ रुपैयाँ बराबरको कारोबार गरेको देखिएको महाशाखाका एसपी कृष्ण कोइरालाले बताएका छन् । 

उनीहरूले एक दिनमा नै २ लाख डलर बराबरको कारोबार गर्ने गरेको देखिएको छ भने पिरामिड शैलीमा कारोबार गर्न उनीहरूले भारतीय नागरिकको नाममा ब्यालेन्स खाता खोलेर आफैले चलाउने गरेका छन् । त्यस्तै , उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरीले टोलीले ६६ करोड ७९ लाख ७९ हजार ९ सय ८३ रुपैयाँ रकमको क्रिप्टो कारोबार गरेको अभियोगमा ३ जनालाई पक्राउ गरेको छ । 

प्रहरीले काठमाडौं महानगरपालिका–१६ सोह्रखुट्टे बस्ने झापा बिर्तामोड नगरपालिका–९ का २२ वर्षीय अनुप मिश्र, काठमाडौं महानगरपालिका–१७ क्षेत्रपाटी बस्ने काभ्रेपलाञ्चोक पनौति नगरपालिका–१ का २४ वर्षीय दिपेश थापा र काठमाडौं महानगरपालिका–१३ बाफल बस्ने २७ वर्षीय राहुललाई पक्राउ गरेको हो । 

क्रिप्टो कारोबारमा अधिकांश आईटी सम्बन्धी ज्ञान भएका युवाहरूको चासो र संलग्नता बढ्दै गएको देखिएको छ । नेपालमा क्रिप्टो कारोबारलाई अवैध मानिदै देश लगायत विदेशमा भएका नेपालीलाई समेत कारोबार नगर्न निर्देशन निरन्तर जारी गर्दै आएको भएपनि क्रिप्टो कारोबार झन बढ्दै गएको छ । 

नेपालमा क्रिप्टो कारोबार गरेमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ९६ अनुसार कसुर गर्ने व्यक्तिलाई उक्त कसुरसँग सम्बन्धित बिगो जफत गरी बिगोको तीन गुणासम्म जरिवाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय हुने प्रावधान गरिएको छ । बिगो कायम गर्न नसकिने अवस्थामा कसुरको मात्रा हेरी बढीमा १० लाख रुपैयाँसम्म जरिवाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय हुने समेत व्यवस्था गरिएको छ । 

क्रिप्टो कारोबार जस्ता गैरकानुनी गतिविधि नियन्त्रण गर्न अर्थ मन्त्रालयले सहसचिव भूपाल बरालको नेतृत्वमा उच्चस्तरीय कार्यदल गठन गरेको भएपनि कार्यदलले क्रिप्टो कारोबारलाई रोक्न आवश्यक पहिल गर्न सकिरहेको छैन । क्रिप्टोको कारोबार नियन्त्रणका लागि गठन गरिएको कार्यदलले समेत विभिन्न अनावश्यक कारण र बाहाना देखाएर वेवास्ता गर्दै आएपछि क्रिप्टो कारोबारी अझै प्रोत्साहित हुँदै गएका छन् ।

नेपालमा क्रिप्टोको बिषयमा स्पष्ट कानुन समेत नभएको अवस्थामा नियामक निकाय समेत क्रिप्टोको विषयमा बिज्ञ नभएको कारण कानुन बनाउन र त्यस्को कार्यान्वयन गर्न सरकारलाई निकै ठूलो चुनौती बनेको छ । कानुन र प्राविधिको अभावका कारण कारोबारीलाई पक्राउ गरेपनि प्रहरी र अन्य निकायहरूले क्रिप्टोमा संलग्नलाई कानुनको दायरामा ल्याउन सकिरहेका छैनन । 

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन,२०७३ बमोजिम आवश्यक कारबाही एवं थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर टेकु काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । भौतिक उपकरण नभएकाले पनि प्रहरीले पक्राउ गरेका अदालतमा प्रमाण पेश गर्न नसकेपछि धरौटीमा छुट्ने गरेका छन् ।