विर्तामोड / नेपालको अर्थतन्त्र धर्मराउन थालेपछि अत्यावश्यक वस्तुबाहेकका प्रतीतपत्र (एलसी) नखोल्ने नेपाल बैङ्कर एसोसिएसनको निर्णयका कारण सागसब्जीको मूल्य आकासिएपछि सर्वसाधारण समस्यामा परेका छन् । विदेशी विनिमय सञ्चिति घट्न थालेसँगै अर्थतन्त्र जोखिममा परेपछि विलासिताका वस्तु आयात गर्दा एलसी नखोल्न राष्ट्र बैंकले मौखिक निर्देशनलाई कार्यान्वयन गर्दा मूल्य अकासिएको हो ।

राष्ट्र बैंकले गरेको अन्य बस्तुको आयात गर्दा पनि शत प्रतिशत मार्जिन राखेर एलसी खोल्दा मात्र आयात गर्न पाइने व्यवस्थाले पनि कागती र केराको आयातमा अवरोध भएपछि बजार मूल्य एकाएक अकासिएको छ । एक दर्जन केराको होलसेल मूल्य १५० देखि १६५ रुपैयाँ पुगेको छ भने खुद्रा मूल्य दर्जनकै २ सय रुपैयाँसम्म पुगेको नेपाल फलफूल थोक व्यवसायी संघले जनाएको छ । विगतमा एलसी खोलिसकेका व्यवसायीले मात्रै अहिले केरा आयात गरिरहेका छन् ।

OM Sai Pathibhara Hospital

ढुवानी भाडामा भएको मूल्यवृद्धि र भन्सार एजेन्टको चलखेलका कारण समेत बजारमा थप मूल्यवृद्धि भएको संघका अध्यक्ष अमर बानियाँले बताएका छन् । भन्सार छुटाउनलाई एक लाख रुपैयाँ पर्नेमा २ लाख रुपैयाँ सम्म लिने गरेको समेत बानियाँले बताएका छन् ।  

मुलुकभर १६ हजार ६ सय ९९ हेक्टरमा केरा खेती र वार्षिक २ लाख ५४ हजार १ सय ६१ टन केरा उत्पादन भइरहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांक उल्लेख गरिएको छ । तर उक्त परिमाणले ३/४ महिना पनि नधान्ने भएपछि आयातमै भर पर्नुपर्ने अवस्था रहेको समेत संघले जनाएको छ ।

कागतीको होलसेल मूल्य मात्रै एक महिनामा किलोमै ९७ प्रतिशत बढेर ३७५ रुपैयाँ पुगेको छ । खुद्रामा कागतीको साइजअनुसार एक गोटाकै २० देखि २५ रुपैयाँसम्म पर्ने व्यापारीहरूको भनाइ रहेको छ । मन्त्रालयका अनुसार मुलुकभर ५ हजार ४ सय ४५ हेक्टरमा कागती खेती हुन्छ  भने उक्त क्षेत्रफलबाट ४६ हजार १ सय १८ टन उत्पादन हुन्छ ।

त्यस्तै , एक महिनामा स्थानीय काउलीको मूल्य ४६७ प्रतिशत बढेर ८५ रुपैयाँ पुगेको छ । मुलुकभर २ लाख ८१ हजार १ सय ३२ हेक्टरमा तरकारी खेती हुन्छ । वार्षिक ३९ लाख ६२ हजार ३ सय ८३ टन उत्पादन हुन्छ ।

उत्पादन भन्दा आयात धेरै भएका कारण भारत, चीन र बङ्गलादेशबाट तरकारी नेपालमा आयात गरिन्छ । कालीमाटी तरकारी बजारले मात्रै उपत्यकाको ७० प्रतिशत माग धान्न सक्ने क्षमता बोकेको छ । गत वर्ष कालीमाटीमा २ लाख ५९ हजार ७ सय टन तरकारी भित्रिएको थियो जसमध्ये १ लाख २ सय ९० टन भारतबाट मात्रै आयात भएको थियो । 

प्रतिकिलो ३७ रुपैयाँ पर्ने मटरकोसा बढेर ५५ रुपैयाँ, ७५ रुपैयाँ पर्ने घिउ सिमी ९५ रुपैयाँ, २२ रुपैयाँ पर्ने गाजर (लोकल) ३५ रुपैयाँ पुगेको समितिले बताएको छ । प्रतिकिलो २० रुपैयाँ पर्ने हरियो प्याज ३५ रुपैयाँ, ३५ रुपैयाँ पर्ने ब्रोकाउली ७५ रुपैयाँ, ४५ रुपैयाँ पर्ने अदुवा ६५ रुपैयाँ, ७० रुपैयाँ पर्ने खोर्सानी १ सय १५ रुपैयाँ र ४७ रुपैयाँ पर्ने हरियो लसुन १ सय ४५ रुपैयाँ पुगेको समितिले जनाएको छ । 

बजार भाउ अचाक्ली बढिरहँदा पनि बजार अनुगमन गर्ने दायित्व बोकेका सरकारी निकाय मौन बस्दै आएपछि सर्वसाधारणले समस्या  खेपीरहेका छन् । माग र आपूर्तिको सन्तुलन नमिल्दा बजार भाउ बढेको भन्दै उजुरी परे पनि सरकारले यसलाई वेवास्ता गर्दै आएको छ ।