काठमाडौं / नेपाली कांग्रेसले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि केन्द्रीय तहबाट घोषणापत्रको अवधारणा बनाएर ७ सय ५३ वटै स्थानीय तहमा पठाउने तयारी गरेको छ ।

कांग्रेसले देशभरबाट घोषणापत्रका लागि नेता कार्यकर्ता, महाधिवेशन प्रतिनिधि, जिल्ला सभापति, स्थानीय तहमा जितेका प्रमुख उपप्रमुख, वडा अध्यक्ष, मतदाता तथा विज्ञबाट गरी १ लाख बढी व्यक्तिमार्फत प्राप्त सुझावलाई आधार मानेर घोषणा पत्र बनाउँदै छ । घोषणापत्र सार्वजनिक गर्ने मिति भने लोकतन्त्र दिवसका दिन अर्थात् ११ वैशाखलाई तोकिएको छ ।

OM Sai Pathibhara Hospital

महामन्त्री गगन थापाको संयोजकत्वमा रहेको केन्द्रीय घोषणापत्र निर्माण समितिमार्फत स्थानीय तह निर्वाचनका लागि कांग्रेसले घोषणापत्र बनाउँदै गरेको हो ।

कांग्रेसले केन्द्रबाट जारी गर्ने घोषणापत्रमा राजनीतिक खण्ड र संकल्प खण्ड गरी दुई खण्ड रहनेछ । यस्तै, बितेको पाँच वर्षमा भएका गतिविधिको समीक्षा र आगामी पाँच वर्षमा कांग्रेसले लिने नीति र प्रतिबद्धता तथा कांग्रेसको कार्यदिशासमेत घोषणापत्रमा ल्याउने कांग्रेसको तयारी छ । राजनीतिक खण्डमा हालसम्मका राजनीतिक उपलब्धि र संकल्प खण्डामा आगामी नीति रहनेछ ।

घोषणापत्र तयारी समितिका सदस्यसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले देशभरबाट प्राप्त सुझावलाई आधार मानेर केन्द्रीय तहमा घोषणापत्रको खाका बन्दै गरेको र केन्द्रले बनाएको अवधारणालाई पार्टी संयन्त्रमार्फत ७ सय ५३ वटै स्थानीय तहमा पठाइने जानकारी दिए ।

‘देशभरबाट आएका सुझावलाई लिएर घोषणापत्र बनाउने काम भइरहेको छ, विषय विज्ञमार्फत घोषणापत्रलाई अन्तिम रूप दिने र केन्द्रले बनाएको घोषणापत्रको अवधारणा ७ सय ५३ वटै स्थानीय तहमा पठाउने तयारी भइरहेको छ, केन्द्रले बनाएको अवधारणामा टेकेर स्थानीय तहले स्थानीय आवश्यकताअनुसार आफ्नै घोषणापत्र बनाउन सक्नेछन्,’ केन्द्रीय सदस्य शिवाकोटीले राजधानीसँग भने ।

कांग्रेसले घोषणापत्र बनाउँदा स्थानीय तहका अन्तर्राष्ट्रिय रूपमा भएका अभ्यासलाई पनि अध्ययन गर्दै छ । अन्तर्राष्ट्रियस्तरमा काम गरेका आफ्ना निकटका विज्ञमार्फत कांग्रेसले स्थानीय तहलाई व्यवस्थित बनाउने नीति लिँदै घोषणापत्रमा अन्तर्राष्ट्रिय अभ्यासलाई पनि प्राथमिकतामा राख्दै छ ।

यसैगरी, २०७४ सालमा स्थानीय तहमा जित्दै गर्दा गरेका प्रतिबद्धता र पूरा गरिएका काम तथा बाँकी रहेका काम’दयगत पनि घोषणापत्रमा समेट्न स्थानीय तहका संयन्त्रलाई कांग्रेसले भनेको छ । जितेका ठाउँमा भएका कमजोरीलाई पनि घोषणापत्रमा ध्यान दिन कांग्रेसले स्थानीय तहका पार्टी संयन्त्रलाई भनेको हो ।

यसैगरी, कांग्रेसले स्थानीय तहमा पार्टीको नेतृत्व स्थापित हुँदा के गर्ने के नगर्ने भन्ने विषय पनि घोषणापत्रको अवधारणमा राखेको छ । कांग्रेसले घोषणापत्रको केन्द्रीय अवधारणामा अनावश्यक रूपमा भ्यु टावर र गेट बनाउने विषयलाई प्राथमिकतामा नराख्नसमेत भन्दै छ ।

यस्तै शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, आर्थिक विकास, गरिबी निवारण, महिला सशक्तीकरणका विषयमा पनि स्थानीय आवश्यकता हेरेर केन्द्रीय अवधारणाअनुसार घोषणापत्र बनाउन स्थानीय तहलाई आग्रह गर्ने तयारी कांग्रेसको छ ।

कांग्रेसले स्थानीय तहमा घोषणापत्र बनाउँदासमेत सार्वजनिक कार्यक्रम गरेर र सुझाव लिएर मात्रै तयार गर्न स्थानीय संयन्त्रलाई सर्कुलर गर्ने नीति लिएको छ ।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टीले नीतिगत विषय समावेश गरेर केन्द्रबाट बनाउने घोषणापत्रलाई स्थानीय तहले स्थानीय आवश्यकताका आधारमा छुट्टै घोषणापत्र बनाउन सक्ने जानकारी दिए ।

‘केन्द्रले पोलिसिगत विषय समेटेर घोषणापत्र बनाउँदै छ, स्थानीय तहले त्यसमा टेकेर स्थानीय आवश्यकतासमेत समावेश गरी स्थानीय घोषणापत्रसमेत बनाउन सक्नेछन्, त्यो अधिकार कांग्रेस केन्द्रले स्थानीय तहलाई दिएको छ,’ कांग्रेस मुख्यसचिव पौडेलले भने । राजधानी दैनिकबाट