काठमाडौं / नेपाल प्रहरीका तीन जना प्रहरी नायब महानिरीक्षक (डीआइजी) लाई अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा गर्ने निर्णयविरुद्ध परेको रिट सोमबार स्थगित भएको छ ।
अन्तरिम आदेश दिने वा नदिने भन्ने सम्बन्धमा सोमबारका लागि पेशी तोकिएकोमा सर्वोच्च अदालतले उक्त पेशी स्थगित गराएको हो ।
गत मंगलबार न्यायाधीश डा. कुमार चुडालको एकल इजलासले एआईजीमा बढुवा गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै कारण देखाउ आदेशसहित दुवै पक्षलाई चैत २८ गते छलफलका लागि बोलाएको थियो ।
डीआइजीहरु ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाशजंग कार्कीले दर्ता गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश चुडालले गत मङ्गलबार अन्तरिम आदेश दिन अस्वीकार गरेका थिए । यद्यपि, आज दुवै पक्षलाई छलफलमा बोलाइए पनि सर्वोच्चले उक्त पेशी स्थगित गरेको छ ।
एआईजीमा बढुवाविरुद्ध डीआइजीहरू ईश्वरबाबु कार्की चैत १७ गते र घनश्याम अर्याल र प्रकाशजंग कार्कीले चैत २० गते सर्वोच्चमा रिट दर्ता गरेका थिए ।
चैत्र १७ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका तीनजना डीआइजी धीरजप्रताप सिंह, वसन्त पन्त र रवीन्द्र बहादुर धानुकलाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको थियो ।