सर्लाही / भारतबाट सर्लाहीको हरिवनमा धान लिएर जाँदै गरेको कन्टेनरमा १० हजार किलो चिनी बरामद भएको छ । सर्लाही भन्सार कार्यालय मलङ्गवामा जाँच गर्ने क्रममा १० हजार किलो चिनी बरामद भएको हो ।
भारतको पटनाबाट धान भनेर ल्याइएका दुई कन्टेनरबाट २०० बोरामा १० हजार किलो चिनी बरामद भएको भन्सार कार्यालयका प्रमुख मुरारीप्रसाद काफ्ले जानकारी दिएका छन् ।
कन्टेनरको अगाडिको भागमा धान राखेर भित्रपट्टी चिनी राखिएको अवस्थामा फेला परेको उनले बताए । कन्टेरबाट बरामद भएको २० क्विन्टल धान र चिनी जफत गरिएको छ भने कन्टेनरलाई नियन्त्रणमा राखेर मुद्दा प्रक्रिया बढाइएको भन्सार प्रमुख काफ्लेले बताएका छन् ।
कन्टेनरका चालकलाई रु तीन लाख धरौटीमा छाडिएको भन्सार कार्यालयले जनाएको छ ।
भारतीय कसटम सोनबर्सा र सीमामा खटिएको भारतीय सुरक्षाकर्मी एसएसबीले जाँच पास गरेको कन्टेनरबाट उक्त परिणाम बराबरको चिनी बरामद गरिएको हो ।