जनकपुरधाम / जनकपुरबाट भूमिसुधार तथा मालपोत कार्यालय धनुषाका हाकिम पाँच लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । 

OM Sai Pathibhara Hospital

मालपोत कार्यालय धनुषाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुनील कुमार झालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले पाँच लाख रुपैयाँसहित पक्राउ गरेको हो । 

एक सेवाग्राहीबाट जमिन पास गराउने सम्बन्धमा घुस मागेको विशेष सूचनाको आधारमा बर्दिबासबाट खटिएको अख्तियारको टोलीले झालाई जनकपुरधाम उपमहानगरपालिका –२ भानुचोकमा रहेको चिया पसलबाट पक्राउ गरेको हो । 

चिया पसलमा सेवाग्राहीले दिएको ५ लाख रुपैयाँ सहित उनलाई सोमबार बिहान करिब ८ः३० बजे पक्राउ गरेको बताइएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको अनुसार झालाई प्रक्रिया पुरा गरी बर्दिवास ल्याउने तयारी गरिएको हो ।

त्यस्तै आइतबार मधेश प्रदेशकै एक स्थानीय तहका शाखा कर्मचारीले पनि घुस लिएको र बार्गेनिङ गरको भिडियो सार्वजनिक भएको छ । 

रौतहटको गुजरा नगरपालिकाका कर्मचारीले उपभोक्ता समितिसँग भुक्तानी दिनको लागि घुस लिएको र बार्गेनिङ गरेको भिडियो सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक भएको हो । 

भिडियोबाट नगरपालिकाका ओभरसियर राकेश यादवले उपभोक्ता समितिसँग भुक्तानी गर्दा लिने गरेको पाइएको छ । यादवले घुस वापतको रकम चेकबाट लिने गरेको भिडियोबाट पत्तालागेको छ । 

जनप्रतिनिधिको समय सकिनै लाग्दा जिल्लाका स्थानीय तहमा व्यापक रुपमा आर्थिक अनियमितता हुने गरेको गुनासो बढ्दै जान थालेको छ ।