काठमाडौं / व्यक्तिगत श्रम स्वीकृति लिएर विदेशिएका अलपत्र परेको घटना बढ्न थालेपछि नेपाल सरकारले वैदेशिक रोजगारीमा जाने व्यक्तिले स्वघोषणा पत्र अनिवार्य रुपमा भर्नुपर्ने व्यवस्था गरेको छ । व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका अधिकांश नेपाली ठगिएर विदेशमा अलपत्र पर्नेको संख्या बढ्न थालपछि वैदेशिक रोजगार विभागले स्वघोषणा पत्र भर्नुपर्ने व्यवस्था गरेको हो ।
विभागमा महानिर्देशक शेषनारायण पौडेलका अनुसार तत्कालका लागि साउदी अरेबिया, कतार, कुवेत, संयुक्त अरब इमिरेट्स (युएई), क्रोएसिया, अल्बानिया, पोल्यान्ड, रोमानिया, स्लोभाकिया, हङ्गेरी, माल्दोभा र बेलारुस जस्ता देशहरूमा भिजिट भिसामा जाने व्यक्तिले स्वघोषणा पत्र अनिवार्य रुपमा भर्नुपर्ने छ ।
व्यक्तिगत श्रम स्वीकृति लिने प्रक्रिया सम्बन्धी निर्देशिका–२०६९’ अनुसार लागू गरेको सो व्यवस्था आगामी वैशाख १ गतेदेखि कार्यान्वयनमा आउने समेत विभागले जनाएको छ । श्रमिकले राहदानीको प्रतिलिपि, सम्बन्धित सरकारबाट जारी प्रवेशाज्ञाको प्रतिलिपि, रोजगार सेवा, सर्त, सुविधा र तलब (पारिश्रमिक) स्पष्ट उल्लेख भएको करार वा सम्झौतापत्रको प्रतिलिपि दूतावासमा पेस गर्नुपर्ने व्यवस्था गरेको छ ।
रोजगारदाताको इजाजत दर्ता प्रमाणपत्रको प्रतिलिपि वा स्पोन्सरको परिचयपत्रको प्रतिलिपि, रोजगारदाता कम्पनीको ट्रेड लाइसेन्सको प्रतिलिपि वा निजी कामदारको हकमा रोजगारदाताको राहदानी वा परिचयपत्रको प्रतिलिपि, संस्थामा जाने कामदारका हकमा कम्पनीको संक्षिप्त विवरण र गन्तव्य मुलुकको सरकारले रोजगारदाता संस्थालाई वा स्पोन्सरलाई दिएको पत्र स्वीकृतिपत्र पेस गर्नुपर्ने समेत विभागले जनाएको छ।
व्यक्तिगत श्रममा जाने व्यक्तिले रोजगारदाता कम्पनी वा स्पोन्सर मार्फत अङ्ग्रेजी भाषामा अनुवाद गरिएका कागजात प्रमाणीकरणका लागि दूतावासमा पनि दिनुपर्ने व्यवस्था गरिएको छ ।
विभागले आगामी वैशाख २ गतेदेखि संस्थागत श्रम स्वीकृति (म्यानपावर कम्पनीमार्फत लिइने श्रम स्वीकृति) अनलाइन प्रणालीबाट मात्रै जारी गर्ने भएको छ । श्रम स्वीकृति लगायत वैदेशिक रोजगारसँग सम्बन्धित सेवालाई प्रविधिमैत्री बनाउँदै लैजाने रणनीतिअनुसार संस्थागत श्रम स्वीकृति अनलाइनबाट जारी गर्ने व्यवस्था मिलाइएको विभागका महानिर्देशक पौडेलले जानकारी दिएका छन् ।
विभागले गत माघ २ गतेदेखि पुनः श्रम स्वीकृति पनि अनलाइनबाट प्रदान गर्दै आएको छ भने श्रम स्वीकृति अनलाइनबाट जारी हुन थालेसँगै वैदेशिक रोजगार कार्यालयमा हुनेको चाँप घटेको छ । सम्पूर्ण सेवा ‘फेसलेस’ बनाइसकिएको अवस्थामा बिना कारण म्यानपावर कम्पनीका कर्मचारी कार्यालयमा देखिए सम्बन्धित संस्था र व्यक्तिलाई कारबाही हुने विभागले चेतावनी दिएको छ ।