बिर्तामोड / काठमाडौँबाट– झापाको भद्रपुरका लागि उडेको जहाजमा सवार यात्रुले उडानको समयमा नै जहाजभित्र चुरोट सल्काएपछि उनलाई विमान कर्मचारीको सहयोगमा प्रहरीले पक्राउ गरेको छ ।
बुद्ध एयरको नाइन एन एएनएफ कलसाइन ९५७ उडानमा सवार यात्रुलाई उडानमा रहेको जहाज भित्रै चुरोट सल्काएको समयमा पक्राउ गरिएको हो ।
उडान सुरक्षाका लागि जहाजमा यात्रा गर्दा दुर्घटना हुन नदिन सलाई र लाइटर जस्ता खतराजन्य बस्तु तथा सामाग्री लान अथवा बोक्नका लागि बर्जित गरिएको छ । सुरक्षाघेरा समेत पार गरेर विमान सम्म पुगेका यात्रुको साथमा लाईटर रहेको खुलेपछि विमानस्थल सुरक्षामा खटिएका र चेकजाँचमा संलग्न अधिकारीमाथि पनि प्रश्न उठेको छ ।
विमानस्थलको सुरक्षा जाँच प्रणालीमाथि नै प्रश्न उठ्ने गरी भएको यो घटनाका विषयमा नागरिक उड्यन प्राधिकरणले अनुसन्धान अघि बढाएको छ ।
कुख्यात अन्तराष्ट्रिय अपराधी चाल्र्स सोभराजले नेपालको विमानस्थलबाट हात्ती समेत लान सकिन्छ भनेर भनेको भनाइलाई सत्य सावित गर्दिने गरी नियमित रुपमा सुरक्षा जाँच प्रणालीमाथि प्रश्न उठ्ने गरीका घटना सार्वजनिक हुन थालेपछि प्राधिकरणले अनुसन्धान थालेको हो ।
केही दिन अघि सुरक्षाजाँच पार गर्दै एक व्यक्ति उडानका लागि तयारी रहेको जहाज सम्म नै पुगेका थिए भने विमानस्थलबाटै सुन तस्करी हुने गरेको सम्म नियमित रुपमा खुल्ने गरेको छ ।
अपराधमा संलग्नका लागि नेपालको विमानस्थल सहज बन्दै गएको भनेर चौतर्फी आलोचना भइरहेको समयमा भद्रपुर उडानमा रहेका युवा लाइटर सहित फेला परेका हुन् ।
अनुसन्धानमा संलग्न प्रहरीले घटनाका विषयमा छानविन भइरहेको जनाएका छन् ।