काठमाडौँ अन्तर्राष्ट्रिय व्यापारका लागि खुला रहेका २४ वटा सीमा भन्सार नाका बाट आयत मात्रै भइरहेको छ , भने बाँकी १० नाकाबाट निर्यात शून्य रहेको तथ्याङ्क सार्वजनिक भएको छ । 

चालु आर्थिक वर्ष २०७८ र ७९ को साउन देखि फागुनसम्मको अवधिमा १० वटा नाकाबाट निर्यात शून्य रहेको भन्सार विभागले जनाएको छ ।  

OM Sai Pathibhara Hospital

विभागका अनुसार २४ वटा नाका मध्ये सबैभन्दा ठुलो वैदेशिक व्यापार हुने नाका वीरगन्ज हो । नेपालको कूल आयात व्यापारमध्ये ३५ दशमलव ४० प्रतिशत वीरगन्ज नाकाबाट हुने गरेको छ । कूल निर्यात व्यापारको ४४ दशमलव ९२ प्रतिशत वीरगन्ज नाकाबाटै हुने गरेको छ । 

विभागको तथ्याङ्क अनुसार पछिल्लो सात महिनामा वीरगन्ज नाकाबाट ४ खर्ब ६३ अर्ब ३४ करोड ७२ लाख ७ हजार रुपैयाँको आयात भएको छ भने  सोही अवधीमा ६६ अर्ब ३६ करोड २ लाख ८३ हजार रुपैयाँको निर्यात भएको छ । 

विभागले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षको सुरुवाती आठ महिनामा नेपालले १३ खर्ब ८ अर्ब ७३ करोड ४८ लाख ५६ हजार रुपैयौको आयात गरेको छ , भने सो समयमा १ खर्ब ४७ अर्ब ७४ करोड ६० लाख ६६ हजार रुपैयाँको निर्यात गरेको छ । 

भद्रपुर, गौर, जनकपुर, महेशपुर, राजविराज, रसुवा, सर्लाही, सुनसरी, तातोपानी र टाँडी सीमा भन्सार नाकाबाट पछिल्लो आठ महिनासम्म निर्यात शून्य रहेको छ । निर्यात शून्य रहेका ती नाकाबाट ३९ अर्ब ८४ करोड १५ लाख ४३ हजार रुपैयाँको वस्तु भित्रिएको छ । 

भद्रपुरबाट ७७ करोड ७३ लाख १ हजार रुपैयाँ, गौरबाट १ अर्ब ४ करोड ५२ लाख ५५ हजार रुपैयाँ, जनकपुरबाट ८४ करोड ६७ लाख ३९ हजार रुपैयाँ, महेशपुरबाट १ अर्ब १२ करोड ४७ लाख २६ हजार रुपैयाँ, राजविराजबाट ११ करोड १० लाख ४४ हजार रुपैयाँ, रसुवाबाट १८ अर्ब ४७ करोड ५२ लाख ९४ हजार रुपैयाँ, सर्लाहीबाट ३ अर्ब ४२ करोड ९५ लाख ६७ हजार रुपैयाँ, सुनसरीबाट ४ अर्ब ८४ करोड २५ लाख ७५ हजार रुपैयाँ, तातोपानीबाट ९ अर्ब ६ करोड ६५ लाख ५५ हजार रुपैयाँ र टाँडीबाट १२ करोड २४ लाख ८७ हजार रुपैयाँको वस्तु नेपाल भित्रिएको छ । 

चालु आर्थिक वर्ष सुरु भएयता विराटनगरबाट १ खर्ब ४८ अर्ब ५६ करोड ८६ लाख २६ हजार रुपैयाँ, ड्राइपोर्टबाट १ खर्ब ४६ अर्ब ५५ करोड ४३ लाख ४३ हजार रुपैयाँ र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ खर्ब ५७ अर्ब ७३ करोड २० लाख ५७ हजार रुपैयाँको वस्तु भित्रिएको भन्सार विभागले जनाएको छ ।