बिर्तामोड / पूर्वजनमुक्ति सेनाहरूको लगानीमा बालाजुमा खुलेको जनमैत्री अस्पताललाई अर्थमन्त्री जनार्दन शर्माले सुटुक्क बेचिदिएका छन् । तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र युद्धमा सहभागी भएका जनमुक्ति सेनाले माओवादी शान्ति प्रक्रियामा आएपछि रकम जम्मा गरेर उक्त अस्पतालको स्थापना गरेका थिए ।
जनमैत्री फाउन्डेसनको नामबाट सञ्चालित उक्त अस्पताललाई जनमुक्ति सेनाका तत्कालीन डेपुटी कमान्डर समेत रहेका अर्थमन्त्री शर्माले केही माओवादी नेताहरुकै मिलेमतोमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य, उद्योगी एवम् प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठलाई एक अर्ब २५ करोड रुपैयाँमा बेचेका छन् ।
स्रोतका अनुसार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै परामर्शमा अर्थमन्त्री शर्मा, माओवादी नेता वर्षमान पुन र बलदेव खनालले अस्पताललाई राज्यमन्त्री श्रेष्ठ, पूर्वअर्थमन्त्री डा। युवराज खतिवडा र व्यवसायी उमेश पाण्डेको समूहलाई बेचेका हुन् ।
जनमुक्ति सेनाहरुले शिविरमा रहँदा आफू र आफ्नो परिवारलाई उपचार गराउन सहज होस् भनी २०६४ सालमा आफूले पाउने तलबभत्ताबाट मासिक एक हजार रुपैयाँ जम्मा गरी अस्पताल सञ्चालनमा ल्याएका थिए । जनमुक्ति सेनाका तत्कालीन डेपुटी कमान्डरहरू शर्मा, पुन र खनालले नै अस्पताल स्थापना गर्नको लागि शिविरमा रहेका सबै सेनाको मासिक भत्ताबापतको रकम कटाएर जनही एक हजार रुपैयाँका दरले रकम जम्मा गरेका थिए । उनीहरुले विभिन्न शिविरमा रहेका सेनाहरुबाट १० करोड रुपैयाँ जम्मा गरेका थिए भने अस्पताल खोल्न नपुगेको बाँकी रकम पार्टीका शीर्ष नेताहरुले उपलब्ध गराएका थिए । अस्पताल निर्माणको लागि रकम जोहो गर्न खटेका तीनै डेपुटी कमान्डरहरुले अहिले सुटुक्क अस्पताल बेचिदिएका हुन् ।
बालाजु औद्योगिक क्षेत्रभित्र तत्कालीन कपडा उद्योगको चार रोपनी क्षेत्रफलमा रहेको यो अस्पताल सञ्चालनमा आएको केही समयपछि नै व्यवस्थापनको कमजोरीको कारण घाटामा गएर बन्द भएको थियो । अस्पतालको व्यवस्थापनको जिम्मा शर्मा, पुन र खनालले नै लिएका थिए । घाटामा गएर लामो समय बन्द रहेको सो अस्पताललाई सरकारले कोभिड–१९ विशेष अस्पताल बनाएर सञ्चालनमा ल्याएको हो ।
कोभिड अस्पतालका नाममा सञ्चालनमा ल्याएपछि शर्मासहितको समूहले श्रेष्ठको समूहलाई बेचेका हुन् । उक्त अस्पताल खरिद गर्नकै लागि पूर्वअर्थमन्त्री डा। खतिवडा र राज्यमन्त्री श्रेष्ठले सेटिङ मिलाएर बन्द रहे पनि कोभिड अस्पतालको रुपमा चलाउने निर्णय गराएका थिए । शर्माको समूहले अस्पताल बेचेपछि पूर्वजनमुक्ति सेनाहरु असन्तुष्ट बनेका छन् । साथै उनीहरुले फाउन्डेसनमा अनियमितता भएको भन्दै वित्तीय विवरण सार्वजनिक गर्न माग गरेका छन् । स्रोतका अनुसार उनीहरुले अस्पतालमा आफूहरुको ठूलो लगानी रहेकाले हिसाबकिताब सार्वजनिक नगरे आन्दोलन गर्ने समेत चेतावनी दिएका छन् । यसअघि पनि सो अस्पतालमा पूर्वजनमुक्ति सेनाले ताला लगाएका थिए ।
यस्तै पूर्वजनमुक्ति सेनाहरूले राज्यमन्त्री श्रेष्ठसँग पनि अस्पतालको हिस्सा पाउनुपर्ने माग राख्दै आएको स्रोतको दाबी छ । आफूहरूलाई हिस्सा नदिए अस्पताल सञ्चालन गर्न नदिने उनीहरुले बताएका छन् । राज्यमन्त्री श्रेष्ठले अर्थमन्त्री शर्मालाई अस्पतालको सबै रकम बुझाए पनि पूर्वजनमुक्ति सेनाले विवाद सिर्जना गरेका कारण अर्थमन्त्री शर्माले भने सबै कागजात श्रेष्ठलाई बुझाउन नसकेको स्रोतको दाबी छ । हाल सय शय्यामा सञ्चालित अस्पताललाई स्तरोन्नति गरी दुई सय शय्याको बनाउने तयारी श्रेष्ठको समूहले गरे पनि कागजात नभएको कारण अलमलमा परेको बताइएको छ ।
अस्पतालसँगै बालाजुको ठेगानामा जनमैत्री फाउन्डेसन इन्स्टिच्युट अफ हेल्थ साइन्स पनि खोलिएको छ । यसको पठनपाठन भने ललितपुरको हात्तीवनस्थित लिटल एन्जेल्स कलेजको हातामा हुँदै आएकोले श्रेष्ठले अस्पतालभन्दा पनि कलेजमा आँखा लगाएर अस्पताल खरिद गरेको जनमुक्ति सेनाको आरोप छ । राज्यमन्त्री श्रेष्ठ लिटल एन्जेल्सका सञ्चालक समेत हुन् । साथै अस्पतालको नाममा नागार्जुनसँगैको मुड्खुमा पनि ९० रोपनी सरकारी जग्गा ९९ वर्षका लागि लिजमा लिइसकेको बताइएको छ । ( साभार : आर्थिक दैनिकबाट )