धरान / सुनसरीको धरान उपमहानगरपालिका भित्र सञ्चालित बचत ऋण सहकारी संस्थाले लगानीकर्ताहरूको पैसा अपचलन गर्ने घटना बढ्दै गएको पाइएको छ । 

बेथितिमा चलिरहेका सहकारीलाई स्थानीय सरकारले नियमन गर्न नसक्दा सहकारीले लगानीकर्ताको पैसा अपचलन गर्ने घटना बढ्दै गएको हो । 

OM Sai Pathibhara Hospital

धरान उपमहानगरपालिका भित्र जम्मा ८७ वटा सहकारी संस्था रहेकोमा २२ वटा सहकारी संकटग्रस्थकाे सुचीमा परेका छन् । 

सहकारीको ठगी र अनियमितता बढ्न थालेपछि गत वर्ष २०७७ मा धरान उपमहानगरपालिकाको सहकारी विकास समितिले नगरभित्रका ४२ वटा सहकारीको अनुगमन गरेको थियो । ४२ वटा सहकारी अनुगमन गर्दा ११ वटा संकटग्रस्थ भेटिएको महानगरपालिकाको प्रतिवेदनमा उल्लेख छ । 

चेलिबेटी, पराग, पूर्वेली, र बुढासुब्वा सहकारी बचत तथा ऋण सहकारी निरन्तर घाटामा रहेका कारण संकटग्रस्थ अवस्थामा रहेको पाइएको थियो । त्यस्तै सयपत्रीले अनियमितता र नियम विपरीत लगानी गरेको पाइएको छ । 

चिरञ्जीवी घाटामा गएको र दृष्टि, कृति र कृपामा आर्थिक पारदर्शी नभएको र विद्याधारी र अनमोलको भने कार्यालय बन्द भएको पाइएको छ ।   

त्यस्तै यस वर्ष ५४ वटा सहकारीको अनुगमन गरेको मा १७ वटा संकटग्रस्थ भेटिएका समितिको प्रतिवेदनमा उल्लेख छ । 

संकटग्रस्थ रहनेमा हिउँचुली, भानु पाथिभरा, सुनकोशी, महिला शुभ जागृति, भर–अभर, सूर्यकिरण, श्रमजीवी, परिश्रमी, आत्मनिर्भर, अनमोल, पहिलो कदम, ज्ञानकुञ्ज, विद्याधारी, कृपा, चेलीबेटी, सयपत्री र पूर्वेली सहकारी संस्था रहेका छन् । यी सहकारीको कार्यालय नभएको र उनीहरूले झोलाबाटै कारोबार गर्ने गरेको अनुगमनमा संलग्न अधिकारीहरू बताउँछन्। 

२०७२ मा जारी नेपालको संविधानको सहकारीको नियमन, नियन्त्रण र कारबाहीको अधिकार स्थानीय तहलाई दिएको छ । तर, स्थानीय सरकारले नियमन गर्न नसक्दा सहकारीले बचतकर्ताको रकम अपचलन गर्ने कार्य नरोकिएको हो । 

सरकारले सहकारीबारेको सम्पूर्ण जानकारी सहकारी तथा गरीबी व्यवस्थापन सूचना प्रणाली (कोपोमिस)को सफ्टवेरमा राख्नुपर्ने व्यवस्था गरेको छ । तर धरानका ४७ वटा सहकारीले मात्र यो नियमको लागू गरेको छ । 

सहकारीले सदस्यबीच मात्र कारोबार गर्नुपर्नेमा जथाभावी असुरक्षित ठाउँमा लगानी गरेका कारण सहकारीले सफ्‌टवेयरमा विवरण राख्न नमानेको धरान उपमहानगरपालिकाका आर्थिक विकास अधिकृत भक्तिराज शर्मा बताउँछन् । 

धरान उपमहानगरपालिका भित्रका सहकारीमा २५ हजार नौ सय ६३ सदस्य आबद्ध छन् जसको बचत दुई अर्ब ६५ करोड २६ लाख १२ हजार रुपैयाँ छ । सदस्यहरूको शेयर लगानी ४८ लाख ६६ हजार रहेकोमा सहकारीको ऋण लगानी दुई अर्ब ७४ करोड ६९ लाख ९६ हजार रहेको छ ।

बचतकर्ताको रकम अपचलन गर्नेमा कृष्णबहादुर विश्वकर्माले सञ्चालन गरेको ‘सल्लेरी बचत तथा ऋण सहकारी संस्था’ पनि एक हो । यो सहकारीले करिब तीन हजार बचतकर्ताको आठ करोड २३ लाख बचत फिर्ता नगरेको पाइएको छ ।  

त्यस्तै लोकबहादुर खापुङले सञ्चालन गरेको श्रेया बचत तथा ऋण सहकारीले पनि बचतकर्ताको ५१ करोड भन्दा बढी रकम फिर्ता गर्न बाँकी रहेको छ । 

धरान उपमहानगरपालिका –१५ का अध्यक्ष तथा एमाले नेता नरेशकुमार इवारमले सञ्चालन गरेको सयपत्री बचत तथा सहकारीले एक करोड ४१ लाख अपचलन गरेको पाइएको छ । 

बचतकर्ताको रकम अपचलन गरेका धरानका प्राय जसो सहकारीहरुले रकम हुन्डी कारोबार, जग्गा र सुन खरिदमा लगाएको पाइएको छ । 

बचतकर्ताको रकम अपचलन गरेको सल्लेरीले ६८ लाख ८९ हजार रुपैयाँ सुन पसलमा लगाएको उपमहानगरपालिकाद्वारा गठित छानबिन समितिकै प्रतिवेदनमा उल्लेख छ। 

धरानका दर्जनौँ सुन पसलका आफ्नै सहकारी छन् । काठमाडौँ, धरान, पोखरा, चितवनदेखि हङकङ, बेलायतसम्म सुन व्यापार गर्ने बराह ज्वेलरीले शुरुमा आफ्नै ‘पासबुक’ छापेर बचत संकलन र त्यो रकम सुनमा लगानी गर्थ्यो। 

पछि बराहले सहकारी दर्ता गर्योर र त्यहाँको बचत पनि सुन, हुन्डी कारोबार र व्यक्तिगत सम्पत्तिमा लगाउन थाल्यो। धरानमा नयाँ भवन किनेपछि बराह ज्वेलरीको यो पाटो उजागर भएको हो।