बिर्तामोड / रुस-युक्रेन युद्धका कारण अन्तराष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य वृद्धि भएसँगै नेपालमा हरेक महिना बढ्दो आयातका कारण व्यापार घाटा थप चुलिएको छ । भन्सार विभागका अनुसार गत वर्षको तुलनामा चालु आर्थिक वर्ष ३८ दशमलब ६४ प्रतिशतले आयात र ८२ दशमलब ९० प्रतिशतले निर्यात बढेपछि अर्थतन्त्र नै कम्जोर बन्दै व्यापार घाटा अकासिएको हो ।

विदेशी मुद्रा सञ्चिति घटे पश्चात नेपाल राष्ट्र बैंकले वस्तुहरूको आयातमा कडाइ गरेपनि दिन प्रतिदिन आयात बढ्दै गएको छ भने निर्यात हालसम्म कै उच्च बिन्दुमा पुगेको छ । भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको आठ महिनामा कुल १३ खर्ब आठ अर्ब ७३ करोड रुपैयाँ बराबरको मालवस्तु आयात भएको छ । 

OM Sai Pathibhara Hospital

अन्तर्राष्ट्रिय बजारमा इन्धन, मेसिनरी तथा उपभोग्य वस्तुको मूल्यवृद्धि भएकाले आयातको परिमाण र मूल्य दुवै बढेको विभागका प्रवक्ता पुण्यविक्रम खड्काले बताएका छन् । 

सरकारले आयातको उच्च वृद्धिलाई निरुत्साहित गर्न सुन आयातको कोटा घटाउने, कतिपय वस्तुको आयातमा परिमाणात्मक बन्देज लगाउने, एलसी खोलेर मात्रै आयात गर्नुपर्ने, आयातमा शत प्रतिशतसम्म नगद मार्जिन राख्नुपर्नेलगायत व्यवस्था गर्दै आएको छ । राष्ट्र बैंकले ४७ वटा वस्तुको आयातमा मार्जिन राख्नुपर्ने भन्दै पुसमा ५ गते सूचना सार्वजनिक गरेको थियो । त्यसपछि पुनः सूचीमा अन्य वस्तु थप्दै २६ माघमा सूचना जारी गरेको थियो ।

सूचनामा आयात घटाउने उद्देश्यका साथ वस्तुहरू आयात गर्दा अग्रिम भुक्तानी गर्न नपाइने र प्रतीतपत्र खोल्दा नै मार्जिन रकम जम्मा गर्नुपर्ने व्यवस्था गरेको थियो । यसबाट गरिएको थियो । तर, फागुन महिनामा माघको तुलनामा १३ अर्ब १२ करोड रुपैयाँले आयात बढेको छ । आयात निरुत्साहनको नीति कार्यान्वयन हुन नपाउँदै आयातको प्रक्रिया अघि बढिसकेका कारण आयात नियन्त्रण हुन नसकेको प्रवक्ता खड्काले बताएका छन् ।

आयातसँगै नेपालमा निर्यात पनि हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । भन्सार विभागका अनुसार आठ महिनामा नेपालले एक खर्ब ४७ अर्ब ७४ करोड रुपैयाँ बराबरको मालवस्तु निर्यात गरेको छ ।

निर्यातमा सबैभन्दा बढी हिस्सा सोयाबिन, पाम र सूर्यमुखी तेलको देखिन्छ । यस अवधिमा करिब ८० अर्ब रुपैयाँ बराबरको पाम, सोयाबिन र सूर्यमुखी आयलको निर्यात भएको विभागको तथ्यांकमा उल्लेख गरिएको छ । 

आठ महिनामा नेपालको वैदेशिक व्यापार ४२ दशमलब १३ प्रतिशतले बढेर १४ खर्ब ५६ अर्ब रुपैयाँ बराबर पुगेको छ । सोही अवधीमा नेपालले वैदेशिक व्यापारमा ११ खर्ब ६० अर्बको व्यापार घाटा व्यहोरेको छ । आयात र निर्यात दुवै उच्चदरमा बढेका कारण कुल व्यापारमा बढोत्तरी भएपनि नेपालमा व्यापार घाटा आकाशिएकाले अर्थतन्त्र थप असन्तुलित भएको छ ।