बिर्तामोड / उद्योगी तथा व्यापारी सरकारले तोकेको राजश्व तिर्न आनाकानी गर्दै मुद्धा मामिलामा जाँदा झण्डै एक खर्ब  राजश्व  मुलुकको ढुकुटीमा जम्मा हुन नसकेको तथ्याङ्क सार्वजनिक भएको छ ।

अर्थमन्त्रालयले बक्यौता कर असुलीका लागि छुट सुविधा सहित सार्वजनिक सूचना नै जारी गरेपछि यस्तो तथ्याङ्क सार्वजनिक भएको हो । सरकारले बक्यौता कर असुलीका लागि वैशाख १५ सम्मको समय दिएको छ ।

OM Sai Pathibhara Hospital

मुद्दा मामिलामा गएका उद्योगी व्यापारी मुद्दा फिर्ता लिएर कर तिर्न आएमा लाग्ने जरिवाना र छुट सहितका सुविधा पाउने अर्थमन्त्रालयले जनाएको छ ।

कर तिर्ने समयावधिका विषयमा आर्थिक ऐन २०७८ ले मंसिर मसान्त सम्मको समयावधि दिएको भएपनि २०७७ असार मसान्तभित्र भएको कर निर्धारण वा संशोधित करमा असहमति जनाउँदै पुनरावेदनमा गएका करदाताले मुद्दा फिर्ता लिएमा थप शुल्क, बाँकी दस्तुर, जरिवाना, व्याज मिनाहा गर्ने सरकारले निर्णय गरेको थियो ।

कर विवादका विषयमा निरुपण गर्ने निकाय राजस्व न्याधीकरणको अध्यक्ष तोक्न सरकारले ढिलाई गर्दा समेत धेरै मुद्दाका विषयमा कारबाही अगाडि बढ्न सकेको छैन । न्यायाधीकरण नेतृत्व विहीन हुँदा सरकारले असुल गर्नुपर्ने बक्यौता कर समेत बढ्दै गएको छ ।

राजस्व परामर्श समितिको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७/७८ को अन्त्यसम्म राजस्वको बक्यौता रकम ९५ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ ।

बक्यौता मध्ये अदालतमा पुनरावलोकनका लागि गएको कर रकम मात्र ५८ अर्ब रुपैयाँ रहेको समितिले जनाएको छ ।

बक्यौता कायम भई असुल उपर नभएको आयकर २४ अर्ब ७४ करोड र मूल्य अभिवृद्धि कर बक्यौता १२ अर्ब ९० करोड रहेको राजस्व परामर्श समितिले जनाएको छ ।

राजस्व परामर्श समितिले अदालती प्रक्रियामा गएका अधिकांश मुद्दा वर्षौँसम्म किनारा नलाग्दा बक्यौता कर वृद्धि हुँदै गएको छ ।

उध्योग, फर्म तथा कम्पनी र व्यापारका विषयमा कर अधिकृतले गरेको कर निर्धारणमा चित्त नबुझे करदाताले आन्तरिक राजस्व विभागका महानिर्देशक समक्ष पुनरावेदनमा जान पाउने कानुनी व्यवस्था रहेको छ ।

विभागका महानिर्देशक समक्ष पुगेका मतप्रतिशत मुद्दामा कर अधिकृतकै पक्षमा फैसला आउने गरेको छ । विभागको फैसलामा चित्त नबुझे करदाताले पुनरावलोकनका लागि राजस्व न्यायाधीकरणमा जान पाउने कानुनी व्यवस्था रहेको छ ।

कानुनको सोही व्यवस्थाका कारण करदाता राजस्व न्यायाधीकरण सम्म जाने गरेका छन् । कानुनी व्यवस्थाका कारण न्यायाधीकरणको निर्णयमा समेत चित्त नबुझे करदाता सर्वोच्च अदालत सम्म जाने गरेका छन् ।

सर्वोच्च पुगेका मुद्धामा लामो समय सम्म पनि अदालतले फैसला नगरिदिंदा बक्यौता कर हरेक वर्ष बढ्दै गएको राजस्व विभागले जनाएको छ ।