बिराटनगर //रसिया-युक्रेन युद्धले पानीजहाजको चलान रद्द भएको छ । 

रसिया र युक्रेनको युद्धपछि विभिन्न बन्दरगाहबाट भिन्न–भिन्न मुलुकका लागि जाने मालवाहक पानीजहाजहरूको चलान रद्द हुन थालेको  हो।

OM Sai Pathibhara Hospital

युद्ध सुरु भएयता दुवै मुलुकका बन्दरगाहबाट व्यवसायहरू धमाधम बाहिर निकाल्न थालिएपछि चलान रद्द भएर ढुवानी प्रभावित हुन थालेको उद्योग संगठन मोरङका कोषाध्यक्ष एवं क्वालिटी आयल रिफाइनरीका सञ्चालक विपिन काबराले बताएका छन्।

घिउतेल उद्योगका लागि कच्चा पदार्थको अभाव हुने अवस्था आएको उनले बताएका छन्। 

नेपालमा पैठारी गरिने सूर्यमुखीको कच्चा तेलको ८० प्रतिशत युक्रेन र रसियाबाट आयात गरिन्छ। दुवै मुलुकमा सूर्यमुखीको व्यावसायिक खेती धेरै हुने हुँदा अन्य मुलुकबाट भन्दा युक्रेन र रसियाबाट आयात गर्दा सहुलियत हुन्छ।

त्यस्तै भटमासको कच्चा तेलका लागि पनि दुवै मुलुक मुख्य आपूर्तिकर्तामा पर्छन्। नेपालका वाणिज्य बैंकले स्विफ्टमार्फत् रसियामा भुक्तानी हुन नसक्ने बताएका छन्।

उनले युक्रेनसँग नेपालका बैंकले १० दिनअगाडि नै एलसी खोल्न नमानेको बताएका छन् ।

बङ्गी कम्पनीले विश्वभरि युक्रेनबाट कच्चा र तयारी वनस्पति घिउतेलको निर्यात गर्दै आएको थियो। भारतमा पनि बङ्गीले कारोबार गरिरहेको छ। त्यसैले युक्रेनबाट अब सूर्यमुखी र भटमासको कच्चा तेल ल्याउन सक्ने अवस्था रहेन।

नेपालले कच्चा खानेतेल आयात गर्न सक्ने अर्को वैकल्पिक राष्ट्र ब्राजिल हो।

तर ब्राजिलमा यस वर्ष ठूलो खडेरी परेर पर्याप्त उत्पादन हुन सकेको छैन। यसका कारण ब्राजिलले पर्याप्त आपूर्ति गर्न नसक्ने काबराको बुझाइ छ।

  रसिया र युक्रेनबाट लोडिङ र सिपमेन्ट दुवै बन्द भएको मोरङ व्यापार संघका कार्यकारी सदस्य एवम् पशुपति खाद्यतेल उद्योगका सञ्चालक अमित शारडाले बताएका छन् । 

अब सूर्यमुखी र भटमासको कच्चा तेलका लागि पाराग्वे र टर्कीजस्ता राष्ट्र वैकल्पिक मानिए पनि ती मुलुकबाट सहुलियत मूल्यमा भनेजति परिमाणको तेल आपूर्ति हुनेमा उनले शंका प्रकट गरेका छन्। 

उद्योगीहरूका अनुसार युद्धका कारण १० दिनमै सूर्यमुखी र भटमासको कच्चा तेलको मूल्य टनको १५० अमेरिकी डलरले वृद्धि भएको छ।