बिर्तामोड / झापाको झापा गाउँपालिकाले तीन सय १८ जना दीर्घरोगीको स्वास्थ्य बीमा गरिदिएको छ ।

गाउँपालिकाले मधुमेह र उच्च रक्तचापका सबै विपन्न दीर्घरोगका बिरामीलाई घरमै पुगेर निःशुल्क स्वास्थ्य बीमा गरिदिएको हो ।  

OM Sai Pathibhara Hospital

गत वर्ष नै गाउँका दीर्घरोगीलाई निःशुल्क औषधि वितरण गर्ने सोचाइ बनाइएकामा त्योभन्दा स्वास्थ्य बीमा नै प्रभावकारी हुने निष्कर्ष निस्किएकाले यस वर्षदेखि दीर्घरोगी विपन्न परिवारलाई बीमा गरिदिएको गाउँपालिकाका अध्यक्ष जयनारायण साहले बताए ।  

अध्यक्ष साहका अनुसार परिवारका पाँचजना सम्मको स्वास्थ्य बीमा गरेर बीमा कार्डसमेत वितरण गरिएको छ ।

स्थानीय ७५ वर्षीय सागिर मियाँले आर्थिक अभावले विगतमा स्वास्थ्य बीमा गर्न नसकेकामा पालिकाले गरिदिएको बीमाले अब वर्षभर औषधि ल्याएर खान सहज हुने आशा व्यक्त गरे । पाँचजना परिवारको अभिभावक उनी उच्च रक्तचाप, मधुमेह र छालाको रोगले पीडित छन् ।

अर्काको घरमा दैनिक मजदुरी गर्दै आएका मियाँले यसअघि महिनामा पाँच सय बराबरको औषधि किनेर नियमित खानु परिरहेको बताए ।

सात वर्षदेखि मुटु र उच्च रक्तचापको बिरामी झापा गाउँपालिका –४ की ६६ वर्षीया सुन्दरवती गणेशले मासिक दुई हजार जति औषधि उपचारमा खर्च गर्दै आएकोमा अब निःशुल्क हुने भएपछि खुसी व्यक्त गरिन् ।  

चालू आर्थिक वर्षमा पालिकाले बजेटमै उच्च रक्तचाप र मधुमेहका दीर्घरोगीलाई निःशुल्क औषधि खरिदका लागि १० लाख बजेट विनियोजन गरेको थियो। सोही बजेटबाट स्वास्थ्य बीमा गरिएको हो ।