बिर्तामोड / विराटनगर स्थित नोबेल शिक्षण अस्पतालले अस्पतालका कुनैपनि सेवा अवरुद्ध नरहेको जनाएको छ । अस्पताल प्रशासनले सूचना जारी गरेर अस्पतालका सम्पूर्ण सेवा सुचारु रहेको जानकारी दिएको हो ।

अस्पतालका सेवाहरू सुचारु भए/नभएको विषयमा बिरामीहरूले टेलिफोनबाट सोधपुछ गर्ने क्रम बढेको भन्दै अस्पताल प्रशासनले यो विषयमा सूचना जारी गरेको हो । ‘केही दिनदेखि अस्पताल सेवा बन्द रहेको भनी जनमानसमा भ्रम फैलिएको र धेरै बिरामीहरूले अस्पतालमा फोन सम्पर्क गरी सोधखोज गरिरहनु भएको छ,’ अस्पतालले जारी गरेको सूचनामा भनिएको छ, ‘नोबेलको ओपीडी, इमर्जेन्सी, भर्ना, अप्रेसन लगायत सम्पूर्ण सेवा सुचारु रहेको जानकारी गराइन्छ ।’
नोबेल, निजी क्षेत्रबाट सञ्चालित पूर्वी नेपालको सबैभन्दा ठूलो अस्पताल हो । नोबेलमा पूर्वी नेपालका विभिन्न जिल्लासहित छिमेकी मुलुकबाट पनि दैनिक करिब तीन हजार बिरामी उपचारका लागि आउँने गरेका छन् । सर्वसुलभ मूल्यमा भरपर्दो उपचारका लागि नोबेल बिरामीहरूको रोजाइमा पर्ने गरेको छ । अत्याधुनिक उपकरण र दक्ष चिकित्सकको व्यवस्थापनका कारण नोबेलले जटिल एवं दुर्लभ अप्रेसन पनि सफलतापूर्वक गर्दै आएको छ ।