बिर्तामोड / झापामा वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुकबाट फर्किएकाहरुमा कुष्ठरोग देखिएको छ ।

जिल्लामा चालु आर्थिक वर्ष २०७८ र ०७९ को पुस मसान्तसम्म यस्ता पाँचमा कुष्ठरोग फेला परेका छ ।

OM Sai Pathibhara Hospital

नेपाल कुष्ठरोग जिल्ला कार्यक्रम प्रमुख परशुराम पोखरेलले बुद्धशान्ति गाउँपालिकामा दुई, झापा गाउँपालिका, दमक र बिर्तामोड नगरपालिकामा एक र एक जना कुष्ठरोगी फेला परेको बताए ।

उनीहरुको रोग पहिचानपछि उपचार सुरुआत भइसकेको छ । यसबाट वैदेशिक रोजगारीबाट फर्किएकाहरु समेत कुष्ठरोगको जोखिम रहेको देखिन्छ ।

‘विदेशमा काम गर्ने क्रममा धेरै जना एउटै कोठामा बस्ने गर्छन् । यसका कारण उनीहरु कुष्ठरोगको जोखिम हुन्छ,’ उनले भने ।

चालु आवको पुष मसान्तसम्ममा ३६ जना नयाँ कुष्ठरोगी फेला परेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठले बताए ।


कुष्ठरोग निर्मूल पार्न १४ वर्ष उमेर समूहलाई विशेष रुपमा हेरिन्छ। तर दुई जना बालबालिकामा पनि कुष्ठरोग देखिनुले उनीहरु कुष्ठरोगको जोखिममै रहेको देखिन्छ ।

जिल्लामा गत वर्ष १० बालबालिकामा कुष्ठरोग देखिएको कार्यालयले जनाएको छ ।

यसरोगको जटिलता अनुसार १४ जनालाई ६ महिने र २२ जनालाई एक वर्षे कुष्ठरोगको औषधि सेवन गराइँदैछ । जिल्लामा औषधिबाट मात्रै उपचार सम्भव नभएका बिरामीलाई कुष्ठरोग सेवा केन्द्र लालगढ र आनन्दवन पठाइँदै आएको छ ।

गत वर्ष त्यस्ता २१ जना कुष्ठरोगीलाई उपचारका लागि पठाइको उनले बताए ।

यसरोग निवारण अभियानमा जुटेका भने कोरोना भाइरसको सङ्क्रमणका कारण रोगीको पहिचान गर्न नसकिएकाले तथ्याङ्क कम आएको बताउँछन् ।

छाला र स्नायूमा असर गरी मानिसको शरीर अंगभंग हुने कुष्ठरोगको एक मात्रा औषधि सेवनले मात्र पनि रोगको सर्ने सम्भावना ९९ प्रतिशत घट्ने उनले बताए ।