वीरगन्ज / वीरगञ्जमा शनिबार कोरोना भाइरस सङ्क्रमणका कारण दुई जनाको मृत्यु भएको छ । नारायणी अस्पतालमा उपचाररत दुईजना सङ्क्रमितको शनिबार बिहान मृत्यु भएको हो। 

अस्पतालका कोभिड संयोजक डाक्टर उदय नारायण सिंहका अनुसार बाराको कलैया उपमहानगरपालिका –५ की ६५ वर्षीया संक्रमित महिलाको शनिबार बिहान साढे ७ बजे मृत्यु भएको हो। 

OM Sai Pathibhara Hospital

स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबार अस्पतालमा भर्ना भएकी ती महिलाको शुक्रबार नै एन्टिजेन विधिबाट परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो। ती महिलाले कोभिड विरुद्धको खोपको दुवै डोज लगाएकी थिइन्। 

यस्तै नारायणी अस्पतालमै उपचारत पर्साको वीरगन्ज महानगरपालिका –३ प्रगतिनगरका ७३ वर्षीय संक्रमित पुरुषको पनि शनिबार बिहान मृत्यु भएको छ । 

मुटु रोगको समस्या रहेका ती पुरुषको स्वास्थ्य अवस्था जटिल भएपछि शुक्रबार अस्पतालमा भर्ना गरिएको र शुक्रबार नै एन्टिजेन विधिबाट परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो। 

अस्पतालको आइसीयु कक्षमा भर्ना गरेर भेन्टिलेटर सपोर्टमा उपचार गर्ने क्रममा ती पुरुषको शनिबार बिहान साढे ४ बजे मृत्यु भएको अस्पतालका कोभिड संयोजक डाक्टर सिंहले जानकारी दिए। डाक्टर सिंहका अनुसार ती पुरुषले पनि कोभिड विरुद्धको खोपको दुबै डोज लगाएका थिए।