बिर्तामोड / योगगुरु रामदेव र आचार्या बालकृष्णको गुर्जो सम्बन्धी दावीलाई नेकपा माओवादी केन्द्रका एक उच्च तहका नेताले चुनौति दिँदै गुर्जो सेवन स्वास्थ्यको हितमा नरहेको बताएका छन् ।

माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री वर्षामान पुनले अमृतबुटी , गुर्जलती र गुर्जो नामले चिनिने जडिबुटी सेवनका कारण आफ्नो स्वास्थ्यमा जटिल समस्या आएको बताएका हुन् ।

OM Sai Pathibhara Hospital

कोरोना महामारीको समयमा सर्वाधिक खोजी र रोजाईमा परेको गुर्जो सेवनका कारण आफ्नो कलेजोमा समस्या पारेको उनले बताएका छन् । एक टेलिभिजन कार्यक्रममा बोल्दै उनले गुर्जो सेवनका कारण आफू र आफ्ना केही साथीको स्वास्थ्यमा समस्या देखिएको दावी गरेका हुन् ।

रोग प्रतिरोधी क्षमता उच्च रहेको भनेर योगगुरु रामदेव र आचार्य बालकृष्णले खुबै प्रचार गरेका कारण नेपालका करिव आधा मानिसले कोरोना महामारी पछि गुर्जोको सेवन गर्न थालेका छन् । नेपालका वन र पहाडी क्षेत्रमा पाइने गरेको गुर्जो कोरोना महामारी पछि भने थाहा पाउने हरेकले आफ्नो घरमा नै रोप्न समेत थालेका थिए ।  

चिकित्सकको परामर्श विना गुर्जोको नियमित सेवन गरेकाले आफ्नो स्वास्थ्य बिग्रीएको दावी गर्दै उनले आफ्ना साथिहरुमा समेत गुर्जोका कारण स्वास्थ्य समस्या देखिएकाले नियमित सेवन स्वास्थ्यका लागि हितकर नरहेको दावी गरेका हुन् ।

नेता पुनको गुर्जो सम्बन्धी अभिव्यक्तिले दैनिक बिहान गुर्जो सेवन गर्न सुझाव दिदैँ गुर्जोबाट बनेका झोल , पाउडर र चक्कीको व्यापार गरिरहेका रामदेव र बालकृष्णको व्यापारमा नै धक्का लाग्ने अड्कल काटिएको छ ।

नेता पुनलाई सन १९८९ तिर जन्डिस देखिएको थियो । त्यसबेलादेखि नै उनले जन्डिसको उपचार गराउँदै आएका थिए ।

२०५२ तिर जाँच गर्दा वंशाणुगत जन्डिस भएको पत्तो लागेको उनको भनाइ छ । त्यसअघि परिवारमा कसलाइ उक्त समस्या थियो भन्ने चाहिँ थाहा नभएको उनको भनाइ छ । पछि समान्य उपचार गराउँदा निको हुँदै आएकामा यो पटक भने बढी नै सिकिस्त भएको उनले बताए ।

‘पहिले सामान्य उपचार गर्ने ठीक हुने हुँदै आएको थियो । कहिलेकाहीँ सामान्य बढ्ने घट्ने गर्दा आँखा, छाला, पहेँलो हुने गर्दथ्यो,’ उनले भने, ‘२०५९ त्यसपछि २०७३ सालमा नेपाल भारतका साथै बैङ्ककमा उपचार गर्दा राम्रो भएको थियो । तर अहिले गम्भीर भएँ । बैङ्ककमा पनि निको भएन । चीनमा मात्रै निको भएँ ।’

उनले २०७३ सालमा बैङ्ककमा उपचार गराएको बेला हर्बल तथा जडिबुटी औषधि खाएको बताएका थिए, तर त्यो नखान भनी चिकित्सकले सुझाव दिएको उनको भनाइ छ । त्यो रोकेपछि आँफै जन्डिस कन्ट्रोल भएको उनले बताए ।

नेता पुनको बैङ्ककमा करिब २ महिना र चीनमा पनि २ महिना उपचार गराएर केही दिनअघि मात्र स्वदेश फर्किएका छन् । उनमा वंशाणुगत जन्डिस ९पहेँले० भएको चिकित्सकहरुको निष्कर्ष छ ।