बिर्तामोड (अन्नपूर्ण पोस्ट दैनिकबाट) हरेक युवाको सपना हुन्छ– विदेश जाने, पैसा कमाउने र परिवारलाई सुखसँग राख्ने। यही सपना बुनेर ११ वर्षअघि बुटवल–४ का दामोदर क्षेत्री साउदी अरब पुगे। साउदीको ‘अलहरफी’ कम्पनीमा ‘ड्राइभिङ’ काम गर्न भन्दै इमेज म्यानपावर कम्पनीले उनलाई वैदेशिक रोजगारीमा पठाएको थियो। पासपोर्ट लगायतका सबै कागजात सक्कली थिए, वैधानिक ढंगले नै विदेश गएका थिए। क्षेत्रीलाई हतारो थियो त, कम्पनीमा चाँडो पुग्ने र दुई, चार पैसा कमाएर श्रीमती र छोराछोरीलाई पठाउने।
क्षेत्री जब अलहरफीमा पुगे। उनलाई ड्राइभर नभई मजदुरीको काममा लगाइयो। उनले पूर्वसम्झौताअनुसार ड्राइभिङ कामको भिसा बनाइदिन कम्पनीसँग आग्रह गरे। कम्पनीले शर्त तेर्स्यायो । २ हजार ५ सय रियाल थप शुल्क तिरे मात्र भिसा परिवर्तन गरिदिने शर्त कम्पनीले राख्यो। त्यसपछि भने क्षेत्रीको मन बदलियो। उनले कम्पनी परिवर्तन गर्ने सोंच बनाए। त्यही बेला, उनलाई साउदीकै एकजनाले आफ्नो कम्पनीमा काम गरे धेरै तलब दिने आश्वासन दियो। लगत्तै उनी अर्को कम्पनीमा जान तयार भए। २०६९ सालमा ‘हमदसाउद अलहाजीरी कम्पनी’ मा ड्राइभर’को काम पाए, गाडी चलाउन थाले।
क्षेत्रीका पासपोर्ट लगायतका कागजात भने पुरानै ‘अलफरही’ कम्पनीमै थिए। नयाँ कम्पनीका सञ्चालकले आफ्नोमा काम गरे नेपाल फर्कने बेलामा पासपोर्ट बनाइदिने आश्वासन दिएको थियो। त्यही आश्वासनमा वर्षौं काम गर्दा पनि राम्रो कमाइ नभएपछि पासपोर्ट लगायतका सबै कागजात छोडेर नयाँ कम्पनीमा काम गर्न गएको क्षेत्रीको भनाइ छ। अर्को कम्पनीमा काम गरेका कारण उनी त्यतिबेला ‘अबैधानिक’ कामदार बनिसकेका थिए
क्षेत्रीलाई बिपत्ती त त्यतिबेला आयो, जब उनले चलाएको गाडी दुर्घटनामा पर्यो। उनको गाडी र अर्को गाडी एकआपसमा ठोक्किँदा दुवै गाडीमा आगो लाग्यो। जलेर नष्ट भए। त्यही क्रममा एकजना पाकिस्तानी नागरिकको मृत्यु भयो। दुर्घटनामा दामोदर पनि घाइते भए, उपचारपछि निको भए। दुर्घटनामा परेका दुवै गाडी जलेर नष्ट भएपछि दामोदर पक्राउ परे। तीन महिना जेल सजाय काटे। लगत्तै कम्पनीको काममा फर्किए। तर, कम्पनीले दामोदरलाई दुर्घटनामा जलेको गाडीको क्षतिपूर्तिबापत ७९ हजार साउदी रियाल ९लगभग २४ लाख ८० हजार० नेपाली रुपैयाँ माग तिर्नुपर्ने भन्यो। साउदीमा यस्ता दुर्घटनाको क्षतिपूर्ति कम्पनी आफैंले तिर्ने गरे पनि, उक्त कम्पनीले क्षेत्रीसँग माग गर्यो।
दुई चार पैसा कमाउन विदेश गएका सामान्य परिवारका क्षेत्रीसँग यत्रो पैसा तिर्न सक्ने क्षमता थिएन। रकम तिर्न नसकेपछि कम्पनीले दुई वर्षपछि उनलाई जेल हाल्यो। दुर्घटनामा ज्यान गुमाएका पाकिस्तानी नागरिकको तर्फबाट भने कुनै उजुरी परेन ।
विगतमा धेरै सुविधा दिने, नेपाल फर्किँदा पासपोर्ट बनाइदिने आश्वासन दिएको कम्पनीले उल्टै बदमासी गर्यो। वि।सं। २०७४ देखि वि।सं। २०७८ सम्म क्षेत्रीले साउदीको जुबेल जेलमा कैदी जीवन बिताए। ४ वर्षपछि जेलबाट त मुक्त भए। तर, कम्पनीले मागेअनुसारको झन्डै २५ लाखको क्षतिपूर्ति तिर्न सकेका छैनन्। जेलबाट छुटे पनि साउदीमा ‘बन्दी जीवन’ बिताइरहेका छन्। कुनै पनि बेला प्रहरीले पुनः पक्राउ गर्न सक्ने चिन्ता भइरहेको क्षेत्री बताउँछन्। क्षेत्रीलाई अब, दुई चार पैसा कमाई गर्नुभन्दा पनि, लफडा टुंग्याएर छिटो नेपाल फर्किन मन छ। तर, कतैबाट पनि आर्थिक सहयोग नपाउँदा निराश र चिन्तित छन्।
उनी, साउदीमा अलपत्र छन्। साउदीस्थित नेपाली दूतावासले ‘आवश्यक रकम’ तिर्न सके उनलाई नेपाल फर्काउन सक्ने जानकारी गराएको छ। तर, दूतावास आफैंले भने आर्थिक सहयोग गरेको छैन। क्षेत्रीले आफूमाथि भएको घटनाबारे नेपाली दूतावास, एनआरएन, भ्रातृसंगठन तथा विभिन्न सामाजिक संघ–संस्थाहरूलाई जानकारी गराएको बताएका छन्। उनले, आर्थिक सहयोगका लागि सबैसँग गुहार गरेको बताए। क्षेत्रीलाई सहयोग गर्न नेपाली दूतावासले ‘पहल’ गरिरहेको जवाफ दिने गरेको छ।
परिवारका सदस्य पनि काठमाडौंतिर सहयोगका लागि धाइरहेका छन्। श्रीमती भगवती क्षेत्री र बहिनी माया थापा वैदेशिक रोजगार विभाग, परराष्ट्र मन्त्रालय, वैदेशिक रोजगार उद्धारमा सरोकार राख्ने व्यक्ति, संघ–संस्था र मिडिया धाउँदा पनि कतैबाट सहयोग नपाएको बताउँछन्। वैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट सहयोग पाउने आशा परिवारका सदस्यमा थियो। बोर्डले सुरुमा १५ लाख सहयोग गर्न सक्ने आश्वासन पनि दिएको थियो। तर, पछि, वैदेशिक रोजगार प्रबद्र्धन बोर्डका महानिर्देशकले नगद सहयोग गर्न नसकिने बरु, क्षेत्रीको तर्फबाट मुद्दा लडिदिने कानुन व्यवसायीका लागि मात्र १५ लाखसम्म खर्च व्यहोरिदिने बताएको परिवारका सदस्य बताउँछन्।
आर्थिक अवस्था कमजोर रहेका क्षेत्रीका एक छोरा र एक छोरी छन्। श्रीमती बुटवलमा ज्याला मजदुरी गर्छिन्। जग्गा जमिन केही नभएका उनको परिवार भाडामा बस्ने गर्छ। अहिले श्रीमानको उद्धारका लागि भौतारिनु पर्दा राम्रोसँग खान पनि नपुग्ने अवस्था उनको छ। श्रीमती भगवतीले आर्थिक सहयोग गरिदिन मनकारी सबैसँग अपिल गरेकी छिन्।