- सुरेश सुवेदी
तिम्रो रगतले लत्पतिएको
त्यो रातो झन्डामा
आज कालो दाग लागेको छ ।
तिम्रो पसिनाले फुलेको त्यो फुलमा
आज झुसिलकिराको राज छ ।
तिम्रो आशुको थोपाले सिर्जित
त्यो दर्शनमा आज धमिराको वास छ ।
अनि उनीहरू भन्छ्न्
रटान लगायौ सुगा झै
युग परिवर्तन भएको छ ।
सकिन अब हिड्न
चोरको पनि एक भोट, तिम्रो पनि
त्यही भोटको जोडले
साम्यवादको रथ गुड्छ
हो, म भन्छु
हिजो पेत्रोगादमा रगत किन बग्यो,
तियमेन स्क्वायरमा
अनि सुखानी छिन्ताङ र खोर्सानेमा
गोलीको पर्रा किन छुट्यो,
जेल किन बने,
हतकडी किन ठोकियो
यो त वर्गीय सत्ता हो ।
वर्गीय सत्ताले दमन गर्छ ।

दमनको प्रतिरोध गर्न खुट्टा कमाउँछौ भने
छोड तो रातो झण्डा,
छोड ती आदर्शको गफ
रोज त्यही संसदवादको यात्रा
खसी को टाउको देखाउदै कुकुरको मासु बेच्न
नआउ झुपडीमा
वर्गीय सत्ता उन्मूलनको नारा लिएर
नआउ रातो लाल्टिन बाल्दै
अँध्यारो मै त्यो गाउँ छोड्ने भए
कोही बन्ने छैन अब बत्तिको पुतली ।
तिम्रो परिवारको रजगज मतियार
गुमाउने छैनौ आफ्नो प्रियहरु
हामी आफ्नो बाटो आफै तय गर्ने छौ
कोर्छौ रेखाचित्र दिलदिमागले
सिक्दै सिकाउदै चुम्ने छौ ।
त्यो मन्जिल
जटिल होस वा सरल
आखिर यो नाफाको जिन्दगी
खेर जाने छैन,
हुनेछ आफ्नै वर्गमा समर्पित ।