बिर्तामोड (कान्तिपुर दैनिकबाट) सभापतिमा उम्मेदवारी दिएका विमलेन्द्र निधिको प्रमुख एजेन्डा थियो– कांग्रेसमा नेतृत्व परिवर्तन । कान्तिपुरसँग उनले भनेका थिए, ‘पहिलो चरणमा कसैको पनि बहुमत पुग्दैन, दोस्रो चरणमा हामी तीन जना (शेखर कोइराला, प्रकाशमान सिंह र निधि) एक ठाउँ हुनेछौं ।’
कांग्रेसको नेतृत्व छान्न मंगलबार भएको दोस्रो चरणको मतदानमा प्रतिनिधिसँग मत माग्दै सभापतिका उम्मेदवार शेरबहादुर देउवासँग प्रकाशमान सिंह र विमलेन्द्र निधिलगायत ।
निधिले भनेझैं सोमबारको मतदानबाट सभापतिको निर्क्योल हुन सकेन । दोस्रो चरणमा जाँदा गठजोड भने उनको भनाइविपरीत बन्यो । पहिलो चरणमा सभापतिमा उम्मेदवारी दिएका सिंह, निधि र कल्याण गुरुङले दोस्रो चरणमा साविक नेतृत्वकै निरन्तरताका लागि शेरबहादुर देउवालाई साथ दिए ।
देउवाले पनि दोस्रो चरणको चुनावी परीक्षा आफ्ना लागि निकै कठिन हुने आकलन गरेका थिए । मंगलबार बिहान मतगणना सकिएलगत्तै उनले दोस्रो चरणको रणनीति बनाउन आफूपक्षीय नेता पूर्णबहादुर खड्का, बालकृष्ण खाँणलगायतसँग बालुवाटारमा छलफल गरेका थिए । त्यहींबाट सिंहलाई फोन गरेर सहयोगका लागि आग्रह गरे । करिब ८ बजे गृहमन्त्रीसमेत रहेका खाँणलाई सिंह निवास चाक्सीबारी पठाए । त्यसको केही बेरपछि आफैं चाक्सीबारी गएर ‘सहयोग आदानप्रदान’ को सहमति गरे ।
देउवाले आफ्नो कार्यशैली परिवर्तन गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेपछि समर्थन गर्ने निर्णयमा पुगेको सिंहले जनाए पनि उनलाई पार्टी र सरकारमा उत्तराधिकारीका रूपमा अघि बढाउने समझदारी भएको स्रोतले जनाएको छ । ‘सिंहलाई तत्काल उपप्रधानमन्त्रीसहितको जिम्मेवारी दिएर सरकारमा लाने र आगामी महाधिवेशनमा सभापतिका रूपमा अगाडि बढाउने समझदारी छ,’ स्रोतले भन्यो ।
सिंहलाई देउवाका पक्षमा खुल्न उनको समूहबाट महामन्त्री उम्मेदवार बनेका विश्वप्रकाश शर्माले पनि भूमिका निर्वाह गरेका थिए । शर्माले पार्टीको वैधानिक प्रावधानले देउवा सभापति घोषणा हुन नसके पनि राजनीतिक रूपमा ‘निर्वाचित’ भइसकेकाले जनमत कदर गर्दै समर्थन गर्न सल्लाह दिएका थिए । ‘मैले लोकतन्त्रमा जनता ९मतदाता० ले जसलाई विश्वास गर्छन्, उसैलाई समर्थन गर्नुपर्छ भनेर सुझाव दिएको थिएँ,’ उनले भने, ‘प्रकाशमान दाइले त्यसलाई सकारात्मक रूपमा लिएर समयमै सही निर्णय गर्नुभयो ।’ सिंह देउवालाई सघाउन तयार भएपछि निधिले लिखित वक्तव्य जारी गर्दै ‘निःसर्त’ सहयोग गर्ने बताए । २२ मत पाएका गुरुङले पनि साथ दिने घोषणा गरे । अर्कातिर कोइराला एक्लै भए । मतका आधारमा तेस्रोदेखि पाँचौं नम्बरका उम्मेदवारले समर्थन गरेपछि देउवाको जित सुनिश्चित भयो ।
राजनीतिशास्त्रका प्राध्यापक लोकराज बरालका अनुसार देउवाले प्राप्त गरेको मत उनको पक्षमा गठजोड बन्नुको प्रमुख आधार हो । पहिलो चरणमा ४ हजार ६ सय ७९ मत खसेकामा देउवाले २ हजार २ सय ५८ ९४८ दशमलव २५ प्रतिशत० मत पाएका थिए । बहुमत पुर्याउन देउवालाई ८२ मत पुगेन । सरकार र पार्टीको दोहोरो सत्तामा भएका उनलाई यो मत जुटाउन खासै कठिन थिएन । ‘देउवाले प्राप्त गरेको सर्वाधिक मतले उनी दोस्रो चरणबाट सभापति हुन्छन् भन्ने संकेत गरिसकेको थियो, अन्य उम्मेदवारलाई आफूले सहयोग नगरे पनि जितिहाल्छन् भन्ने मनोवैज्ञानिक दबाब पर्यो,’ बरालले भने, ‘सम्भवतः यही कारण सिंह र निधि देउवालाई समर्थन गर्न बाध्य भए ।’
देउवा, सिंह र निधि कांग्रेस विभाजनका बेला एउटै पार्टी ९कांग्रेस प्रजातान्त्रिक० मा थिए । पार्टी एकीकरणपछि सिंह १२ औं महाधिवेशनबाट र निधि करिब ६ महिनाअघि मात्र देउवासँग अलग्गिएका हुन् । त्यसैले सिंह र निधिसँग रहेको मत देउवासँग पनि भावनात्मक रूपमा निकट मानिन्छ । ‘सिंह र निधि उम्मेदवार हुँदा उनीहरूतिर गएको मत स्वाभाविक रूपमा देउवातिर आकर्षित हुने अवस्था थियो,’ कांग्रेसका एक नेताले भने, ‘त्यसलाई रोक्न नसकिने भएपछि दुवै नेता उनको पक्षमा खुलेका हुन् ।’
पार्टीभित्र सिंह र निधिभन्दा कोइराला कनिष्ठ हुनु पनि देउवाका लागि समर्थन पाउने वातावरण बन्यो । २०५७ माघमा पोखरामा सम्पन्न दसौं महाधिवेशनबाट केन्द्रीय कार्यसमितिमा प्रवेश गरेका सिंह र निधि पार्टीको उपसभापति, महामन्त्री र सरकारमा उपप्रधानमन्त्री भइसकेका छन् । उमेरले जेठो भए पनि पार्टीमा कोइराला केन्द्रीय सदस्यभन्दा माथि बन्न सकेको छैनन् । उनी १२ औं महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका हुन् । महाधिवेशनअघि एउटै समूहमा रहेका सिंहले साझा उम्मेदवार बनाउने सन्दर्भमा कनिष्ठ भएकै कारण कोइरालालाई समर्थन गर्न अस्वीकार गरेका थिए । ‘सिंह र निधिलाई जुनियर (कोइराला) लाई भन्दा देउवालाई नेता मान्नु सहज भयो होला,’ प्राध्यापक बरालले भने, ‘त्यसैले हिजो विरोधमा बोले पनि देउवा रोजाइमा परे ।’
सिंह र निधिमा अर्को डर पनि थियो– पार्टीमा ‘कोइराला विरासत’ फर्कियो भने भविष्यमा आफ्ना लागि नेतृत्वमा पुग्ने यात्रा झन् चुनौतीपूर्ण हुनु । कांग्रेसभित्र कोइराला विरासत संस्थागत रूपमा स्थापित छ । १३ औं महाधिवेशनमा एकाएक बीपीपुत्र शशांक महामन्त्री निर्वाचित भए । अहिलेकै महाधिवेशनमा शेखर एकैपटक केन्द्रीय सदस्यबाट सभापतिको उम्मेदवारका रूपमा उदाए । कांग्रेसभित्र कोइरालालाई नेतृत्वमा पुग्न जति सहज छ, त्यत्तिकै कठिन उनीहरूलाई नेतृत्वबाट हटाउन हुने गर्छ । बीपी, गिरिजाप्रसाद र सुशील जीवनको अन्तिम घडीसम्म पार्टी सभापति थिए ।
बीपीलाई २००९ सालको पाँचौं महाधिवेशनमा उनकै दाजु मातृकाले चुनौती दिए पनि त्यसपछि उनी सर्वस्वीकार्य नेताका रूपमा २५ वर्ष पार्टी नेतृत्वमा रहे । जेलमा रहँदा र जीवनको अन्तिम समयमा स्वास्थ्यले साथ नदिँदा उनले कृष्णप्रसाद भट्टराईलाई कार्यवाहक सभापति बनाएका थिए । गिरिजाप्रसादले १४ वर्ष र सुशीलले ६ वर्ष पार्टीको नेतृत्व गरेका थिए । १० औंदेखि १२ औं महाधिवेशनसम्म रामहरि जोशी, भीमबहादुर तामाङ र नरहरि आचार्यले सभापतिमा उम्मेदवारी दिए पनि कोइरालालाई खासै दबाब पुगेन । देउवाले १० औं महाधिवेशनमा गिरिजाप्रसादविरुद्ध र १२ औं महाधिवेशनमा सुशीलविरुद्ध उम्मेदवारी दिएर पार्टीभित्र ‘एन्टी–कोइराला’ जनमत निर्माण गरेका थिए । ‘कोइराला परिवारका लागि सधैं सरकारभन्दा पार्टी प्राथमिकतामा पर्ने गर्छ, बरु सरकारमा नजाने तर पार्टीको नेतृत्व कब्जा गरिराख्ने मनोविज्ञान उनीहरूमा देखिन्छ,’ एक कांग्रेस नेताले भने, ‘शेखर सभापतिमा निर्वाचित हुँदा कांग्रेसमा फेरि कोइराला विरासत सुरु हुने सिंह र निधिले बुझेको हुनुपर्छ ।’
सिंह र निधिले देउवालाई सहयोग गर्नुको अर्को कारण विगतको उनीहरूबीचको ‘एन्टी–कोइराला’ गठजोड हो । बीपीले देउवा, निधि र सिंहलाई पार्टी राजनीतिमा स्थापित गर्न उल्लेख्य सहयोग गरे पनि उनको शेषपछि गिरिजाप्रसादसँग तीनै नेताको सम्बन्ध सुमधुर हुन सकेन । कटुता यतिसम्म अघि बढ्यो कि २०५९ मा देउवाको नेतृत्वमा पार्टी विभाजन भयो । निधि र सिंह पनि उक्त पार्टीमा गए । सिंहले त सधैंभरि गणेशमानको परिवारले मात्र त्याग गर्नुपर्ने भन्दै आक्रोश पोख्ने गरेका थिए ।
तीनतिर कोइराला
आफ्नै परिवारका सदस्य एक ठाउँ नहुनु शेखरका लागि घातक बन्यो । कोइराला परिवारबाटै शेखर सभापति उठ्दा सुजाता सिंहको प्यानलबाट उपसभापति लडिन् । बीपीपुत्र शशांक मौन बसिदिए ।
दोस्रो चरणको निर्वाचनमा समेत उनी सहमति र सहकार्यको आवश्यकता भन्दै मझधारमा उभिए । यसले गर्दा शेखर एक्लो परे । ‘सुरुदेखि नै कोइराला परिवार एक ढिक्का भइदिएको भए अहिलेको अवस्था आउने थिएन,’ एक नेताले भने, ‘कोइराला परिवारभित्रै विखण्डन हुँदा पनि देउवालाई सहज भयो ।’
अर्कातिर लामो समय कोइराला समूहमा रहेका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि निर्णायक मोडमा मौनता साधे । समूहभित्र साझा उम्मेदवार बन्न नपाउँदा निराश बनेका उनी पहिलो चरणमा सिंह र कोइरालामध्ये कसलाई समर्थन गर्ने भन्ने अप्ठ्यारोमा थिए ।
दोस्रो चरणमा पनि उनी कोइरालाका पक्षमा खुलेनन् । ‘सुरुदेखि नै पौडेलले शेखर’दालाई खुलेर समर्थन गरिदिएको भए जितको सम्भावना बढ्थ्यो, तर उहाँले महत्त्वपूर्ण समयमा टिमलाई धोका दिनुभयो,’ शेखर कोइराला समूहका एक नेताले भने ।