बिर्तामोड (आजको राजधानी दैनिक)  निर्वाचन आयोगले राष्ट्रिय सभातर्फ रिक्त हुन गइरहेको १९ पदमा १२ माघमा निर्वाचन गर्ने गरी निर्वाचन कार्यक्रम तथा कार्यतालिका स्वीकृत गरेको छ ।

आयोगले २० फागुनबाट रिक्त हुने राष्ट्रिय सभातर्फका १९ पदमा १२ माघमा निर्वाचन गर्नेगरी मंगलबार निर्वाचन तालिका र कार्यक्रम स्वीकृत गरेको हो । स्वीकृत तालिकाअनुसार २० पुसमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ ।

OM Sai Pathibhara Hospital

आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले राष्ट्रिय सभातर्फ रिक्त हुन गइरहेको १९ पदमा १२ माघमा निर्वाचन गर्नेगरी कार्यक्रम तय गरिएको जानकारी दिए ।

‘राष्ट्रिय सभातर्फ १९ पद रिक्त हुँदै छ, रिक्त हुनुअघि नै निर्वाचन गर्नेगरी आयोगले निर्वाचन कार्यक्रम र तालिका स्वीकृत गरेको छ । १२ माघमा राष्ट्रिय सभातर्फ रिक्त हुने पदमा निर्वाचन हुन्छ, त्यसका लागि दल दर्ता गर्नुपर्छ । आयोगले निर्वाचन प्रयोजनका लागि सबै कार्यक्रम ल्याएको छ,’ आयोगका प्रमुख आयुक्त थपलियाले भने ।

आयोगले राष्ट्रिय सभा निर्वाचनमा भाग लिन चाहने दललाई १ पुस देखि १० पुससम्म दल दर्ता गर्न समय निर्धारण गरेको आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । निर्वाचन कानुनअनुसार कुनै पनि निर्वाचनअघि निर्वाचन प्रयोजनका लागि दल दर्ता अनिवार्य छ ।

आयोगका प्रवक्ता पौडेलका अनुसार १७ पुसमा निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशन हुनेगरी आयोगले निर्वाचन कार्यक्रम बनाएको छ ।

प्रकाशित नामावलीमा नाम समावेश हुन छुट भएका व्यक्तिले आफ्नो नाम समावेश गर्न दरखास्त दिने, नाम समावेश भएको व्यक्तिले आफ्नो नाम थर उमेर, पद आदि सच्याउन दरखास्त दिने तथा प्रकाशित नामावलीमा उल्लेख भएका मतदाताको विरोधमा उजुरी दिने सक्नेछन् ।

आयोगका अनुसार १८ र १९ पुसमा निवेदन तथा उजुरीउपर छानबिन र कारबाही गर्ने तथा अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम छ ।

यसैगरी, २० पुसमा उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने र मनोनयन दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने, २१ पुसमा उम्मेदवारको विरोधमा उजुरी दिने, २२ र २३ पुसमा मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने तथा उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम आयोगले तय गरेको छ ।

यसैगरी, २४ पुसमा उम्मेदवारले नाम फिर्ता लिने, २५ पुसमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने र तोकिएका मतदान केन्द्रहरूमा १२ माघमा बिहान ९ बजेदेखि ३ बजेसम्म मतदान हुने कार्यक्रम छ ।

राष्ट्रिय सभा कानुनअनुसार पद रिक्त हुनु ३५ दिनअघि उपनिर्वाचन गरिसक्नुपर्छ ।

को को हुन्छन् मतदाता ?

राष्ट्रिय सभा निर्वाचनमा गाउँपालिकाका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन् । यसैगरी, ७७ वटै जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख तथा ३ सय ३० प्रदेश सभा निर्वाचन क्षेत्रबाट निर्वाचित प्रदेश सभा सदस्यसमेत मतदाता हुन्छन् ।

आयोगका अनुसार स्थानीय तहमा रिक्त प्रमुख उपप्रमुखकको संख्या यकिन भएपछि मात्र मतदाताको संख्या तय हुनेछ । प्रदेश सभातर्फ भने १८ पद रिक्त भएको आयोगले बताउँदै आइरहेको छ ।

आयोगका प्रमुख आयुक्त दिनेश थपलियाका अनुसार माथि तोकिएका र हाल कायम संख्या मात्रै राष्ट्रिय सभा निर्वाचनमा मतदाताका रूपमा सहभागी भई राष्ट्रिय सभा सदस्यको रिक्त पद चुन्ने प्रक्रियामा सहभागी हुन पाउनेछन् ।