खोटाङ / खोटाङमा आठ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । 

एक्कासी टाउको दुख्ने, जोर्नी दुख्ने, आलस्य हुने जस्ता लक्षण देखिएपछि उपचारका लागि जिल्ला अस्पताल आएका आठ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको हो । 

OM Sai Pathibhara Hospital

रूपाकोट मझुवागढी नगरपालिका –१ दिक्तेलका पाँच जना, सोही नगरपालिका –६ नेर्पाका एक जना, रावाबेँसी गाउँपालिका –३ लामीडाँडाका एक र दिप्रुङ चुइचुम्मा गाउँपालिका –२ डाँडागाउँका एक जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको हो । 

सङ्क्रमितमध्ये शरीरमा रगत कम भएका एकजना बिरामीलाई थप उपचारका लागि अन्यत्र रेफर गरिएको जिल्ला अस्पताल खोटाङका प्रमुख डा. वैभव मल्लिकले बताए । 

उनका अनुसार संक्रमितमध्ये दुई जना जिल्ला अस्पतालमा र बाँकी पाँच जना आफ्नै घरमा चिकित्सकको सहयोगमा उपचार गराइरहेका छन् ।

“डेङ्गु रोगको अहिलेसम्म खास उपचार छैन । यसको लक्षणअनुसार उपचार गर्नुपर्ने हुन्छ”, उनले भने, “लामखुट्टेको टोकाइबाट बच्ने, घर वरपर पानी जम्न नदिने, पूरा शरीर ढाक्ने लुगा लगाउने, सुत्दा अनिवार्य झुल प्रयोग गर्ने उपाय अपनाएर डेङ्गुबाट बच्न सकिने भएकाले यसप्रति सबै सचेत हुन आवश्यक छ ।”

जिल्लाको दक्षिण पूर्वी क्षेत्रमा पर्ने साकेला गाउँपालिकामा पनि डेङ्गुका बिरामी भेटिएको समाचार स्रोतले जनाएको छ । गत वर्ष पनि यो सिजनमा खोटाङमा डेङ्गुका बिरामी भेटिने गरेको जिल्ला अस्पतालले जनाएको छ । 

दश स्थानीय तह रहेको जिल्लाका हरेक गाउँमा अहिले रुघाखोकी तथा ज्वरोको बिरामी अत्यधिक रहेको स्थानीयवासीले बताएका छन् । पछिल्लो समय जिल्ला अस्पतालमा उपचार गराउने आउने बिरामीको सङ्ख्यासमेत वृद्धि भएको अस्पतालले जनाएको छ ।