विराटनगर / प्रदेश नं १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यलाई ‘प्रतिमान–निमा स्मृति प्रतिष्ठान’ भैरहवा रुपन्देहीले रु एक करोड मूल्य बराबरको विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

मुख्यमन्त्री आचार्यलाई प्रतिष्ठानकी कार्यकारी निर्देशक स्वाति  थापाले आज उक्त सामग्री हस्तान्तरण गरेकी हुन् । हस्तान्तरण गरिएका सामग्रीमा फेससिल्ड, स्वास्थ्य गाउन, मास्क, डिजिटल थर्मामिटर, पीपीई, आकस्मिक शय्या लगायतका विभिन्न ११ वटा सामग्री छन् ।

OM Sai Pathibhara Hospital

सो अवसरमा मुख्यमन्त्री आचार्यले आफ्नो लागि सबैले कार्य गर्ने तर समाजको सेवा गर्नु नै महत्वपूर्ण एवं मानवहितको ठूलो कार्य भएको बताएका छन् । उनले प्रतिष्ठानले यस क्षेत्रका जनताको हित र आवश्यकतालाई ध्यानमा राखेर आगामी दिनमा थप सहयोग प्राप्त हुने अपेक्षा गरे ।

सामाजिक विकासमन्त्री बलबहादुर साम्सोहाङले प्राप्त स्वास्थ्य सामग्रीहरु प्रदेशका जिल्लामा आवश्यकता अनुसार वितरण गर्ने जानकारी दिएका छन्। प्रतिष्ठानकी कार्यकारी निर्देशक थापाले प्रदेशका जनतालाई कोरोना महामारीबाट बचाउनका लागि आगामी दिनमा खोपको व्यवस्था गर्ने जानकारी दिए।

प्रतिष्ठानका निर्देशक धर्म केसीले प्रतिष्ठानले सात प्रदेशमध्ये लुम्बिनी प्रदेशमा केही दिनमा स्वास्थ्य सामग्री वितरण गर्ने जानकारी दिँदै गएको वर्ष केन्द्रसहित सात प्रदेशमा रु आठ करोड मूल्य बराबरको स्वास्थ्य सामग्री वितरण गरेको बताएका छन्।