बेलायत//नेपालमा कोरोनाविरुद्धको खोप अभाव भइरहेको बेला बेलायतमा भने अर्को साताबाट तेस्रो डोज खोप लगाइने तयारी भइरहेको छ।

लामो समयको प्रतीक्षापछि कोरोनाविरुद्धको तेस्रो अर्थात्  ‘बुस्टर’ डोज खोप लगाउने तयारी भएको हो ।

OM Sai Pathibhara Hospital

कम्तीमा तीन करोड बेलायती नागरिकहरूलाई अर्को साताबाट प्राथमिकताका आधारमा ‘बुस्टर’ डोज खोप वितरण गरिने बेलायती स्वास्थ्य मन्त्री साजिद जाविदले बताएका छन् ।

सुरुमा ५० वर्ष उमेर पुगेका, शारीरिक अवस्था कमजोर भएका  १६ देखि ४९ वर्ष उमेरका  तथा अग्रपङ्क्तिमा खटिएर काम गर्ने हेल्थ एन्ड केयर वर्कर्सहरुलाई  उक्त खोप वितरण गरिने अधिकारीहरूले जनाएका छन् ।

यसअघि जुनसुकै खोप लगाइएको भए पनि बूस्टर डोजको रूपमा फाइजरको खोपलाई मुख्य प्राथमिकतामा राखिएको बताइएको छ ।

तेस्रो अर्थात् बूस्टर डोजको खोप  लगाउन दोस्रो डोज लगाएको छ महिना पुगेको हुनुपर्ने बताइएको छ ।

५० वर्ष भन्दा कम उमेरका स्वस्थ व्यक्तिलाई भने बूस्टर डोज लगाउने सम्बन्धमा कुनै निर्णय भएको छैन ।

आगामी साताबाट सुरु गरिने बुस्टर डोज आउँदो क्रिसमससम्ममा पूरा गर्ने सरकारको लक्ष्य रहेको बताइएको छ। 

जोइन्ट कमिटी अन भ्याक्सिन एन्ड इम्युनाइजेशन (जेसीभीआइ) ले बुस्टर खोपलाई वितरण गर्ने सल्लाह दिएपछि  बेलायत सरकारले तत्कालै खोप वितरण तयारी थालेको हो ।