बिर्तामोड / धानखेतीका लागि उर्वरभूमि मानिने झापामा असार मसान्तसम्ममा ७५ प्रतिशत जमिनमा रोपाइँ भएको छ । मनसुन चाँडै सक्रिय भएका कारण गतबर्षको तुलनामा यो वर्ष असार मसान्तसम्ममा ७५ प्रतिशत जमिनमा रोपाईँ भएको हो । 

गतवर्ष यस अवधिमा ६२ प्रतिशत जमिनमा रोपाईँ भएको थियो । समयमा मनसुन शुरु भएका कारण पानीको अभाव नभएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । पर्याप्त पानी भएपनि उत्पादनले मूल्य नपाउँदा किसान खेतीप्रति आकर्षित हुन नसकेको ज्ञान केन्द्रका कृषि अर्थ विज्ञ शालिकराम भट्टराईले बताए । 

OM Sai Pathibhara Hospital

उनले यो वर्ष धान खेतीमा लागत झन बढेको बताए । ‘धान रोप्नका लागि मेसिन छैन, भट्टराईले भने– ‘कामदार लगाएर रोप्दा गतवर्ष ५ सय रुपैयाँ दैनिक ज्याला लाग्ने गरेकोमा यो वर्ष ६ देखि ८ सय सम्म लागत पुगेको छ ।’ उनले एक बिगाहा क्षेत्रफलमा अहिले चलेको दर अनुसार खेती गर्दा ३५ देखि ४० हजार रुपैयाँसम्म खर्च हुने गरेको उनले बताए । तर, उत्पादनले उचित मुल्य नपाउँदा किसान खेतीप्रति आकर्षित हुन नसकेको भट्टराईको भनाई छ । 

झापामा यो वर्ष मलको अभाव नहुने अनुमान कृषि ज्ञान केन्द्रको छ । गोदाममा पर्याप्त मल स्टक रहेको हुनाले यो वर्ष मलको अभाव नहुने भएको हो । मल अभावमा गतवर्ष किसानले लगाएको धान धेरै ठाउँमा अपेक्षाकृत उत्पादन भएको थिएन । झापामा ८५ हजार ७५० हेक्टर जमिनमा धानबाली लगाइने गरिएको छ । जिल्लामा ४ लाख १५ हजार मेट्रिक टन धान उत्पादन हुने गरेको तथ्यांक ज्ञान केन्द्रसँग छ ।