सिरहा / सिरहामा भिन्ना भिन्नै स्थानबाट लागुऔषध सहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका –११ नैनपुर निवासी नीला महतो, गोलबजार नगरपालिका –६ गुम्बाचोकका राकेशकुमार लामा, सखुवान्नकारकट्टि गाउँपालिका –४ खयरबोनाका सुनिल गिरी र नगढीमाई नगरपालिका –१० का प्रवीण शर्मा रहेका छन् ।
महतोलाई गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । घरमा खानतलासी गर्दा साढे छ किलो गाँजा र ६०० स्पानो ट्याबलेट बरामद भएपछि महतोलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
यस्तै लामालाई गए राति नै लागूऔषध ब्राउनसुगर (खैरोहिरोइन) सहित प्रहरीले गोलबजार नगरपालिका –६ गुम्बाचोकबाट पक्राउ गरेको छ । लामाको साथबाट प्रहरीले २०० मिलिग्राम ब्राउनसुगर बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
त्यस्तै गिरीलाई प्रहरी चौकी ठाडी सिरहाबाट खटिएको प्रहरी टोलीले बिहीबार साँझ लागूऔषधसहित जिल्लाको सखुवान्नकारकट्टि गाउँपालिका –४ खयरबोनाबाट पक्राउ गरेको छ ।
भारतीय बजारबाट फर्किँदै गरेका बेला जाँच गर्दा गिरीको साथबाट नोरफीन १४ एम्पुल, फेनारगन १४ एम्पुल, डाइजी ल्याब १४ ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको छ ।
यसैगरी शर्मालाई प्रदेश नं २ प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको प्रहरी टोलीले गोलबजारबाट पक्राउ गरेको हो । शर्माको साथबाट १०० पिस नाइट्रोभेट ट्याब्लेट बरामद गरेको प्रहरी बताएका छन् ।