कैलाली / कैलालीमा पाँच वर्षीय बालकको हत्याको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
बुधबार मृत फेला परेका टीकापुर नगरपालिका –१ का पाँच वर्षीय विवेक विष्टको हत्या आरोपमा प्रहरीले दुई किशोरीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मृतक बालककी नातामा दिदी पर्ने १५ वर्षीया किशोरी र उनकी १४ वर्षीय साथी रहेका छन् ।
बालकलाई आफूसँगै जामुन खान लिएर गएका किशोरीले घरदेखि करिब पाँच सय मिटर उत्तरतर्फ लगी धकेलेर हत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीका अनुसार घरायसी रिसइबीका कारण बालकको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
कुलोमा पुगेपछि बालकले खुट्टामा लगाएको चाँदीका बाला निकालेर बालकलाई धकेलेर कुलोमा फालेको किशोरीले स्वीकार गरेको पनि एसपी अधिकारीले बताए ।
घटना खुल्ने डरले उनी साथीको घरमा गएर किताब लगेको, चाँदीका बाला साथीलाई लुकाउन दिएको पनि अनुसन्धानबाट खुलेको छ । लम्कीचुहा नगरपालिका –६ घर भएकी १४ वर्षकी अर्की किशोरीलाई बाला लुकाउन दिएको र बजारमा बिक्रीको प्रयास समेत गरेको देखिएको प्रहरीको भनाइ छ ।
सोमबारदेखि बेपत्ता भएका टीकापुर नगरपालिका –१ का पाँच वर्षीय विवेक बिष्ट बुधबार मृत अवस्थामा फेला परेका थिए ।