काठमाण्डौ / समाजवादी विद्यार्थी युनियनले सुजिता भण्डारी मृत्यु प्रकरणबारे अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न माग गरेको छ ।
युनियनका अध्यक्ष रूपनारायण श्रेष्ठले आज विज्ञप्ति जारी गर्दै भण्डारीले आफू अपहरणमा परेको भनी सहयोग माग्दा समयमा उद्धार गर्न नसकेकाले घटनामा शंका उत्पन्न भएको बताएका छन् ।
युनियनले सुजिता भण्डारी मृत्यु प्रकरणलाई राज्यले थप छानविन गरी चाँडोभन्दा चाँडो दोषीलाई कानुनी कारबाही गर्न विज्ञप्ति मार्फत माग गरेको छ।
असार ११ गते बिहान ६ बजे साथीको घर जाने भनेर हिँडेकी सुजिता सोही दिनदेखि हराएकी थिइन् । आइतबार साँझ च्याउ टिप्न गएका स्थानीयले ब्रहमस्थानी सामुदायिक वनमा भण्डारीको शव वनको बीचमा रहेको एउटा झाङमा अडकिएको अवस्थामा भेटेका थिए ।