बिर्तामोड / झापामा  कोभिड –१९ सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञा दश दिन थप गरिएको छ ।

जिल्ला संकट व्यवस्थापन समिति(डिसिसिएमसी)को सोमबार बसेको बैठकले आज राति १२ बजेसम्मका लागि जारी रहेको निषेधाज्ञालाई असार ३१ गते राति १२ बजेसम्मका लागि कायम राख्ने निर्णय गरेको हो । बैठकले निषेधाज्ञालाई अझ सहज बनाएको छ ।

OM Sai Pathibhara Hospital

संक्रमणको दरमा केही कमी आएपनि खतरा यथावत रहेकाले निषेधाज्ञा थप गरिएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाले बताए । 

खाद्यान्न, फलफूल, तरकारी, माछामासु, दुधडेरी, पुस्तक, हार्डवेयर तथा निर्माणजन्य सामग्री, इलेक्ट्रोनिक्स, टेलरिङ, ड्राइक्लिनर्स, लत्ताकपडा, जुत्ताचप्पल, सुनचाँदी, कस्मेटिक, भाँडा, गाडी मोटरसाइकल सोरुम, प्लास्टिक तथा मेसिनरी पसलहरू बिहान ६ बजेदेखि ५ बजे सम्म संचालन गर्न  दिने  बैठकले निर्णय गरेको  छ  । 

बैठकले सार्वजनिक सवारी साधन बाहेक निजी सवारी साधन सिटीसफारी, अटोरिक्सा जोरविजोर प्रणालीबाट संचालन गर्न पाउने निर्णय गरेको छ । होटल रेष्टुरेन्ट बिहान ६ बजेदेखि बेलुका ५ बजे सम्म भौतिक दूरी कायम राखी संचालन गर्न पाइने तथा ५ बजे पछाडि ‘टेक अवे’ सेवा संचालन गर्न दिने निर्णय गरेको छ । 

भारतबाट आउने नेपालीलाई नाकामा एन्टिजेन परीक्षण गरेर प्रवेश गर्न दिने, कोरोना पोजेटिभ आएको अवस्थामा मेची अस्पतालमा उपचार गर्ने, नेगेटिभ आएको अवस्थामा सम्बन्धित पालिकाको समन्वयमा गन्तव्य सम्म पुऱ्याउने व्यवस्था गरिने भएको छ । तर विद्यालय, जिम, सिनेमाघर, पार्क, स्विमिङ पुल, खेलकुद आदिमा संचालन गर्न भने रोक गर्ने निर्णय गरेको छ ।