चितवन / राप्ती नगरपालिका - ३ निवासी २३ वर्षीया सुजिता भण्डारीको हराएको १० दिन पछि शव भेटिएपछि स्थानीयले घटनाबारे विस्तृत छानबिनको माग गर्दै पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । प्रहरीले भण्डारी हराएको १० दिन सम्म गम्भीर अनुसन्धान नगरेको भन्दै स्थानीयवासीले ट्रक बाटोमा तेर्साएर सडक अवरुद्ध गरेका हुन् ।
प्रहरीले शवलाई अस्पताल लैजान लागेका बेला आफन्त र स्थानीयवासीले नाराबाजी गर्दै पूर्वपश्चिम राजमार्ग अवरुद्ध गराएका हुन् ।
आइतबार साँझ च्याउ टिप्न गएका स्थानीयले ब्रहमस्थानी सामुदायिक वनमा भण्डारीको शव वनको बीचमा रहेको एउटा झाङमा अडकिएको अवस्थामा भेटेका थिए ।
असार ११ गते बिहान ६ बजे साथीको घर जाने भनेर हिँडेकी सुजिता सोही दिनदेखि हराएकी थिइन् । उनले सोही दिन १२ बजे दिदीलाई फोन गरेर अपहरणमा परेको बताएको परिवारका सदस्यले बताउँदै आएका छन् ।