रौतहट / केही दिनदेखि परेको अविरल वर्षासँगै आएको बाढी तथा डुबानमा परी रौतहटमा हाल सम्म ४ जनाको मृत्यु भएको छ ।
असार १३ गते गरुडा नगरपालिका –८ मा खाल्डोमा डुबेर दुई वर्षीय हसिना खातुनको मृत्यु भएको थियो । सोही दिन माधवनारायण नगरपालिका –८ की तीन वर्षीय राजकुमारी महतोको बागमती नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
त्यसैगरी १६ गते बकैया नदीमा बगेर गौर नगरपालिका –४ का २५ वर्षीय प्रमोद चनउको मृत्यु भएको थियो भने सोही दिन वर्षाका कारण घर भत्किँदा बौधीमाई नगरपालिका –४ की ७२ वर्षीय जितनी साहको मृत्यु भएको थियो ।
शनिबार बागमती नदी र लालबकैयामा आएको बाढीका कारण ईशनाथ, दुर्गा भगवती र राजदेवीमा २८० परिवार विस्थापित भएका छन् ।
आइतबार पानी कम भए पनि उनीहरूको घर हिल्लामे भएकाले कोही आफन्तको घरमा, कोही बागमती नदीको बाँधमा बसिरहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।
जिल्लाका २२ वटा घरमा वर्षा, बाढी तथा डुबानले क्षति पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।