काठमाडौँ /  राष्ट्रिय गौरवको आयोजना रहेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले आजदेखि बिजुली उत्पादन गर्ने भएको छ । कूल ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी आयोजनाको पहिलो युनिटबाट बिजुली उत्पादन सुरु हुन लागेको हो ।

आज दिउँसो ४ बजे श्रव्यदृश्य माध्यमबाट प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट आयोजनाको उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेले जानकारी दिएका छन्। पहिलो युनिटको क्षमता ७६ मेगावाट रहेको आयोजनाले आइतबार विद्युत गृह  रहेको गोगरदेखि खिम्तीसम्मको ४७ .२ किलोमिटर लामो २२० केभी क्षमताको प्रसारण लाइनमा बिजुली पठाएर चार्ज गरेको छ । आयोजनाले शनिबार ढल्केबरदेखि न्यु खिम्ती सबस्टेशनहरूको लाइन चार्ज गरेको थियो।

OM Sai Pathibhara Hospital

आयोजना स्थलमा सूचना प्रणालीका लागि अप्टिकल फाइबरसमेत जडान भएको छ । आयोजनामा जडान गरिएका उपकरण आइतबारसम्म नो लोडमा चलाइए पनि सोमबारदेखि ती उपकरणलाई लोडमा चलाइने प्रवक्ता न्यौपानेले जानकारी दिएका छन्।

यही असार मसान्त भित्र आयोजनाको अर्को एक युनिटबाट बिजुली उत्पादन गर्नेगरी आवश्यक तयारी भएको छ । नेपाल विद्युत प्राधिकरणको प्रणाली सञ्चालन विभागले यही असार १२ गते एक सूचना जारी गर्दै राष्ट्रिय गौरवको माथिल्लो तामाकोशीको विद्युत राष्ट्रिय विद्युत प्रणालीमा जोड्ने कार्यक्रम भएकाले खिम्ती लामोसाँघु १३२ केभी प्रसारण लाइन बन्द हुने जानकारी दिएको थियो। आयोजनाको सुरुआती लागत ३५ अर्ब भएपनि अमेरिकी डलरको मूल्यमा आएको उतारचढाव, ब्याज लगायतका कारणले लागत बढेर ८० अर्ब पुगेको छ ।