बिर्तामोड / फ्रान्समा आयोजित यूएन जेनेरेसन समता मञ्चमा ट्वीटर, टिकटक, गुगल र फेसबुकले आफ्नो प्लेटफर्म मार्फत महिलामाथि हुने दुव्र्यवहार रोक्न थप सुरक्षा दिने प्रतिबद्धता ब्यक्त गरेको छ । अनलाइनमा आधारित लैङ्गिक हिंसा तथा दुर्व्यवहार कम गर्न वर्ल्ड वाइड वेब फाउन्डेसनले गत वर्षदेखि सुरु गरेको परामर्शका क्रममा उक्त प्रतिज्ञा आएको हो ।
वर्ल्ड वाइड वेब फाउन्डेसनले परामर्शका क्रममा महिलाहरूले आफ्नो सामाजिक सञ्जालको पोस्टमा कसले कमेन्ट गर्न सक्ने वा रिप्लाई दिनसक्ने भन्ने विषयमा थप नियन्त्रण चाहने र अनलाइनमा कहाँ, कहिले र के हेर्ने भन्नेमा थप रोजाइ खोज्ने गरेको देखिएको छ ।
महिला तथा सिमान्तकृत मानिसहरूले दुर्व्यवहार विरुद्ध रिपोर्ट गर्नसक्ने र त्यसलाई तत्काल सम्बोधन गर्नुपर्ने संयन्त्रमा जोड दिइएको छ । तर वर्ल्ड वाइड वेब फाउन्डेसनले ती प्लेटफर्मले कसरी त्यस किसिमको लक्ष्य सुनिश्चित गर्दैछन् भन्ने विषयमा चाहिँ केही खुलाएको छैन ।