सुनसरी / सुनसरीको इटहरी उपमहानगरपालिकाबाट चोरीको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका –३ का २९ वर्षीय सुमन तामाङ र धरान उपमहानगरपालिका –१९ का २४ वर्षीय सुरज परियार रहेका छन् । 

तामाङ इटहरी –३ का अनन्त प्रसाद पौडेलको नगद १ लाख ३५ हजार र १४ हजार मूल्य बराबरको सुनको गहना चोरी गरेको आरोपमा पक्राउ परेका हुन् ।

OM Sai Pathibhara Hospital

ज्येष्ठ १२ गते बिहान अन्दाजी ६ बजेको समयमा पौडेलको घर कोठाबाट नगद तथा गहना हराएको भन्ने सूचनाका आधारमा चोरीमा संलग्न रहेका ब्यक्तिको खोजतलासमा खटिएको प्रहरी टोलीले तामाङलाई पक्राउ गरेको हो । 

तामाङको साथबाट प्रहरीले नगद ६९ हजार ५ सय नगद समेत बरामद गरेको छ । 

यसैगरी इटहरी –६ मा रहेको कुलनयन ट्रेडर्सबाट नाइट्रोजन ग्यास सिलिन्डर चोरी गर्ने सुरज परियारलाई मोरङको सुन्दरहरैचा –३ बाट चोरी भएको नाइट्रोजन ग्यास सिलिन्डर सहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।