नवलपुर / पूर्वपश्चिम राजमार्ग पुनः अवरुद्ध भएको छ । बिहीबार साँझ मोटरसाइकल चल्न मिल्ने गरी निर्माण गरिएको नयाँ डाइभर्सनमा ट्रयाक्टर फसेपछि पुनः अवरुद्ध भएको हो । 

राजमार्गको नारायणगढ–बुटवल खण्डअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा निर्माण गरिएको डाइभर्सन बिहीबार बिहान बाढीले बगाउँदा अवरुद्ध भएको थियो । 

OM Sai Pathibhara Hospital

गैँडाकोट–१० मा रहेको सशस्त्र प्रहरी बल नेपाल नं ३१ गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक वीरभद्र नाथले फसेको ट्रयाक्टर निकालेर डाइभर्सन मर्मतको काम भइरहेको जानकारी दिए ।

राजमार्ग विस्तारका लागि साना पुल हटाएर नयाँ मोटरेबल पुल निर्माण गर्ने क्रममा सवारी साधन सञ्चालनका लागि बनाइएको डाइभर्सन बाढीले बगाएको थियो ।

लामो समयसम्म पूर्वपश्चिम राजमार्ग अवरुद्ध हुँदा पनि सवारी साधन सञ्चालन गराउने गरी प्रभावकारी ढङ्गले काम हुन नसकेको भन्दै चालकहरुले गुनासो गरेका छन् । सवारी साधन व्यवस्थापनका लागि ट्राफिक प्रहरीले पूर्व जाने सवारी साधनलाई डण्डा र पश्चिम जाने सवारीसाधनलाई गैँडाकोटतर्फ नै रोकेर राखेको छ । 

बाढीले बगाएको डाइभर्सन पुनः निर्माण गरेर सवारी साधन सञ्चालन गर्नका लागि इलाका प्रहरी कार्यालय गैँडाकोट, सशस्त्र प्रहरी बल नेपाल नं ३१ गुल्म, नारायणगढ–बुटवल सडक विस्तार आयोजनाका कर्मचारी खटिएका छन् ।