पोखरा / नेपाली कांग्रेस वडा समिति पोखरा-१७ ले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई ध्यानाकर्षण गराएको छ। डेविडफल , गुप्तेश्वर महादेव गुफा तथा फेवातालबाट पानी निकास भई बगेको खोलाको मापदण्ड तीन मिटर कायम गर्नुपर्ने मागसहित समितिले विज्ञप्ति मार्फत ध्यानाकर्षण गराएको हो ।

मुख्यमन्त्रीको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच समितिका सभापति देवराज आचार्यले मुख्यमन्त्री पोखरेललाई ध्यानाकर्षणपत्र हस्तान्तरण गरेका हुन् ।

OM Sai Pathibhara Hospital

गुप्तेश्वर महादेव गुफा वरिपरि कायम गरिएको मापदण्ड हटाउन, डेविडफल  खोला ( फेवा बाँधदेखि डेविडफल  हुँदै फुस्रेखोलासम्म ) को नयाँ मापदण्ड हटाई तीन मिटर मापदण्ड कायम गराउन ध्यानाकर्षण गराइएको छ ।

पोखरा महानगरपालिकाले डेविडफल लगायतका पर्यटकीय स्थललाई आफ्नै अनुमानको आधारमा सेती नदीको मापदण्डअनुसार कायम गरेकोमा आपत्तिजनक रहेको ध्यानाकर्षण पत्रमा उल्लेख छ।

डेविडफल पर्यटकीय क्षेत्र भएकाले आकर्षक र रमणीय बनाउनुपर्नेमा विभिन्न टेन्डर गराउन नपाइने उल्लेख गर्दै ध्यानाकर्षणपत्रमा भोगाधिकार प्राप्त संस्था छोरेपाटन माविलाई नै निरन्तरता दिन माग गरेको छ ।