काठमाडौँ / लोकसेवा आयोगको केन्द्रीय कार्यालय कमलपोखरीमा निर्माण भएको नयाँ भवनमा सर्ने भएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणको आयोजना कार्यान्वयन इकाइमार्फत लोकसेवा आयोगको नयाँ भवन ७२ करोड २३ लाख रुपैयाँ लागतमा निर्माण गरिएको हो ।
साउन ३ गतेदेखि हुने स्वास्थ्य सेवाको नवौँ तह र न्याय सेवाको राजपत्रांकित तृतीया श्रेणीको अन्तवार्ता पनि नयाँ भवनमानै निर्धारण गरीएको र त्यसअघि नै नयाँ भवनमा सरीने पनि लोकसेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीले जानकारी दिएका छन् । पहिले कमलपोखरीस्थित आफ्नै जग्गामा भएको लोकसेवा आयोगको केन्द्रीय कार्यालय राणाकालीन भवन युवा तथा खेलकुद मन्त्रालयले प्रयोग गरेपछि अनामनगरस्थित कार्यालयमा सरेको थियो ।
२०७२ को गोरखा भूकम्पमा कमलपोखरीको पुरानो भवन भत्किएपछि २०७४ चैत्र ५ गते तीन बर्षे निर्माण सम्झौता गरीयो ।
लकडाउन लगायतका समस्याले तोकिएको समयमा काम नसकिएपछि थपिएको ३ महिनाको म्याद असार २५ गते सकिँदै छ । लोकसेवा आयोगका तत्कालीन अध्यक्ष उमेश प्रसाद मैनालीले गत फागुनमानै नयाँ भवनको उद्घाटन गरेका थिए ।
लोकसेवा आयोगको नयाँ भवन अन्डरग्राउण्ड सहित ८ तलाको रहेको छ । भुकम्प प्रतिरोधि उक्त भवनले १२०२.४२ बर्गमिटर क्षेत्रफल ओगटेको छ ।