बिर्तामोड / भारतबाट चोरी गरी ल्याईएका कार नेपालमा बिक्री वितरणमा संलग्न गिरोहका नाईके कमलबाबु भट्ट सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको महानगरीय अपराध अनुशन्धान महाशाखाले चोरीमा संलग्न गिरोहका सदस्यलाई भारतीय कार सहित पक्राउ गरेको हो ।
पक्राउ परेकाले भारतबाट चोरी गरी ल्याईएका सवारीसाधनलाई नक्कली कागजात प्रयोग गरी नेपालमा बिक्री गर्ने गरेको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ । गिरोहमा संलग्नले यातायात विभागको जस्तै हुबहु देखिने गरी नक्कली ब्लुबुकसमेत बनाउने गरेको पाईएको छ ।
महाशाखाले सोमबार काठमाडौंको भीमसेनगोलामा रहेको एक पसलमा छापामारी ठुलो परिमाणमा नक्कली ब्लुबुक र विश्वविध्यालयका सर्टिफिकेट सहित लमजुङका कमलबाबु भट्टलाई पक्राउ गरेको थियो । पक्राउ परेका भट्टको बयान र उनको कनेक्सनका आधारमा चोरीको कार नेपालमा ल्याएर बिक्रीमा संलग्न गिरोह सम्म पुग्न प्रहरी सफल भएको हो ।
भट्ट पक्राउ परेपछि उनकै गिरोहमा संलग्न देखिएका थप तिन जनालाई महाशाखाले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भक्तपुरको चागुनारायण २ दुवाकोटका ३१ वर्षिय मधु सिलवाल , चागुनारायण ८ का २४ वर्षिय अरुण खड्का र मोरङको वयरबनका ४१ वर्षिय रेवती रमण निरौला रहेको महाशाखाले जनाएको छ ।
भट्टको फ्ल्याटबाट प्रहरीले ५ बोरा फर्जि ब्लुबुक र सर्टिफिकेट समेत बरामद भएको महाशाखाका प्रहरी उपरिक्षक कृष्ण कोईरालाले जानकारी गराएका छन् ।कोईरालाले पक्राउ परेका भट्ट वीरगञ्ज महानगरपालिका–५ स्थित मुख्य सडकसँग जोडिएको स्वर्गीय कमल देवी भण्डारीको ५ कठ्ठा १५ धुर जग्गा र त्यसमा बनेको घर किर्ते गरी नामसारी गर्ने काममा समेत संलग्न रहेको खुलेको बताएका छन् ।
सो घटनामा संलग्न देखिएपछि मालपोत कार्यालय पर्साका प्रमुख सुमन झा, जग्गा कारोबारी विश्वास तिवारी र योजनाकार केवल प्रताप जबरा सहित पाँच जना अदालतको आदेशमा अहिले थुनामा नै रहेका छन् । सो घटनामा समेत भट्ट संलग्न देखिएपछि प्रहरीले उनीमाथि सो विषयमा समेत मुद्धा चलाउने तयारी गरेको छ ।