बिर्तामोड / प्रहरीले झापाको दमकबाट ५ लाख रुपैंया नगद सहित लागुऔषध कारोवारमा संलग्न ४ जनालाई पक्राउ गरेको छ ।
लागुऔषध कारोवारमा संलग्न रहेको भन्दै प्रहरीले झापाको गौरादह ५ का २६ बर्षीय विवेक लिम्बु, २२ बर्षीय सौरभ राई र इलामको चुलाचुली ४ का ३१ बर्षीय बिक्रम राई र ३७ बर्षीय जेम्स उपनामले चिनिने खगेन्द्र सावाँलाई पक्राउ गरेको हो ।
प्रहरीले दमक ६ को थाना रोड क्षेत्रबाट विवेक र सौरभलाई २ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको थियो । पक्राउ परेकाले आफुहरुको साथमा भएको ब्राउन सुगर दमक ५ बस्ने बिक्रम र खगेन्द्रबाट खरिद गरेको बयान दिएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बिक्रम र खगेन्द्रको कोठा खानतलासीका क्रममा लागुऔषध कारोवारको ५ लाख १४ हजार ३०० नगद रुपैया समेत भेटिएपछि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी गराएको छ ।
झापा प्रहरीले इलामको चुलाचुली स्थित बिक्रमको घरबाट ५ ग्राम ब्राउन सुगर र खगेन्द्रको घरबाट २।३ ग्राम ब्राउन सुगर बरामद भएको समेत जनाएको छ ।