काठमाण्डौ / कोरोना संक्रमण घट्दै गएको भएपनि खतरा बाँकी नै रहेको भनेर विज्ञले चेतावनी दिईरहेकै समयमा सरकारले काठमाण्डौ उपत्यकामा सार्वजनिक यातायात खुलाउने निर्णय गरेको छ ।
स्वास्थ्य क्षेत्रका विज्ञले आमनागरिकको पहुँचमा खोप नरहेको र कोरोनाका अन्य प्रजाती पनि देखिन थालेको भन्दै समयमा नै सावधानी अपनाउन सरकारलाई आग्रह गरिरहेका बेला सरकारले यातायात खुलाउने निर्णय गरेको हो ।
उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको वैठकले भालीबाट उपत्यकामा २५ सिट माथिका सार्वजनिक सवारीसाधन चल्न दिने निर्णय गरेको छ ।
वैठकले उपत्यकाका जिल्लामा जोर बिजोर प्रणालीका आधारमा सार्वजनिक यातायात चल्न दिने निर्णय गरेको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी गराएका छन् ।
संचालन अनुमति पाएका सवारीसाधनमा स्वास्थ्य मापदण्ड पालना हुनु पर्ने, सेनीटाइजरको व्यवस्था हुनु पर्ने , यात्रुले अनिवार्य माक्स लगाएको हुनुपर्ने र भौतिक दुरी कायम गरिएको हुनुपर्ने लगायतका नियम समेत पालना भएको हुनु पर्ने छ ।