काठमाडौँ / परिवर्तित कोरोना भाइरसको सङ्क्रमण तीव्र भइरहेका बेला  सरसफाइमा ध्यान दिन आह्वानसहित वाग्मती सफाइ महाभियानलाई निरन्तरता दिइएको छ । फोहरमा रोग र महामारी पनि फैलने भएकाले यस्तो आह्वान गरिएको महाअभियानले जनाएको छ ।

विसं २०७० जेठ ५ गतेदेखि राष्ट्रका लागि हप्तामा दुई घण्टा स्वयंसेवा भन्ने नाराका साथ शुरु भएको सफाइ महाभियानको ४१८ औँ हप्तामा आज पशुपति र शङ्खमूल क्षेत्रमा सफाइ गरियो । पशुपति क्षेत्रमा अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य डा. माला खरेलका नेतृत्वमा काठमाडौँ महानगरपालिका वडा नं. ९ का सदस्य टेकराज अधिकारीसहित दुई जनाले भौतिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर पशुपति आर्यघाट क्षेत्रमा सफाइ गरे । 

OM Sai Pathibhara Hospital

यसैगरी शङ्खमूल क्षेत्रमा अभियानकर्मी डा लक्ष्मी पौडेलका नेतृत्वमा सफाइ गरिएको छ । दुवै स्थानको नदी किनारमा जम्मा भएको फोहर टिपेर व्यवस्थापन गरिएको छ । सफाइ महाअभियानले टिपेको फोहर कामपाले व्यवस्थापन गर्दै आएको छ ।

गुह्येश्वरीमाथिको वाग्मतीमा मनदेखि नै वाग्मती सफाइ अभियान जारी गरेको वाग्मती सुन्दरता सरोकार मञ्चले निषेधाज्ञाबीच ३८८ औँ हप्ताको कार्यक्रम सम्पन्न गरेको छ । भौतिक दूरी कायम गर्दै गोठाटार पुल नजीकको क्षेत्रमा सफाइ गरिएको अभियानकर्मी ईश्वर पुडासैनीले जानकारी दिए । 

वाग्मतीको तिलगङ्गा ३०० औँ हप्तामा भौतिक दूरी कायम गरी सफाइ गरिएको छ । नदी किनार नजीक निवास भएका अभियानकर्मी नदीमै उपस्थित भएर र नदीको किनारभन्दा टाढा निवास भएका अभियानकर्मीले टोल, घरआँगन सफाइ गरेको  संयोजक आशा पाण्डेले राससलाई जानकारी दिए । यसैगरी मीनभवनस्थित वाग्मती किनारमा नजीकै घर हुने अभियानकर्मीले सफाइ गरेका थिए । 

विष्णुमतीको माथिल्लो भाग सफाइको ३७ औँ हप्तामा बूढानीलकण्ठ नगरपालिका वडा नं ४ पासिकोट क्षेत्रमा सफाइ गरिएको  अभियानकर्मी रामकुमार श्रेष्ठले जानकारी दिए । 

विष्णुमती धन्येढिकुरो सरोकार समितिसमेत यस क्षेत्रको विष्णुमती सफाइमा संलग्न हुने गरेको जनाइएको छ । यसैगरी आज वाग्मतीका सहायक नदी रुद्रमती, विष्णुमतीको तल्लो भाग, मनोहरा र  ललितपुरको गोदावरी खोलामा पनि  सफाइ गरिएको छ । 

वाग्मती सफाइ महाअभियान शुरु भएपछि यसका सहायक नदीका साथै उपत्यका बाहिरका मुख्य नदी, शहर एवं सांस्कृतिक सम्पदा स्थलसमेत हालसम्म देशभर १०७ भन्दा बढी स्थानमा सफाइ भइरहेको छ । महाअभियानले विभिन्न व्यक्तिका सहयोगमा निषेधाज्ञाका बेला काम गुमाएका मजदूरलाई लक्ष्य गरी भोजन सेवासमेत उपलब्ध गराउन छलफल चलाएको छ ।