भजनी / कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजनाको काम शुरु भएको हो । 

वर्षातको समयमा आकाशको पानीबाट हुने डुबानलाई रोक्ने  उद्देश्यले काम शुरु गरिएको टीकापुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष भैरवसिंह रावलले बताए । “ढल निकासका लागि हामीले वषौँ देखि प्रक्रिया अगाडि बढाएका थियौँ । जुन आज आएर सफल भएको छ”, संस्थाका अध्यक्ष रावलले भने, “टीकापुरमा बर्सेनि वर्षात्को समयमा हुने ठूलो क्षति कम हुने छ । टीकापुरवासीको लामो समयको सपना पनि पूरा हुने भएको छ ।” 

OM Sai Pathibhara Hospital

खानेपानी संस्थाले सुपरीवेक्षणको काम गर्दै आएको छ । संस्थाले यस आयोजनाको प्रक्रिया अगाडि बढाएको थियो भने टीकापुर नगरपालिकाले समन्वय गर्दै आएको थियो । २९.५ किलोमिटर लम्बाइको ढल निकासको पानी जमरा कुलोमा व्यवस्थापन गरिनेछ । सडकमा आएको पानी सडकमा जम्मा नभई नालीमार्फत व्यवस्थापन हुनेछ । जसले डुबानका कारण बर्सेनि खेप्दै आएको सास्ती कम हुने अनुमान गरिएको छ । 

पहिलो चरणमा नगरपालिकाको वडा नं १ बजार क्षेत्रमा र शक्तिनगर शिविरमा काम हुनेछ । बाढीका कारण सबैभन्दा प्रभावित हुने पनि बजार क्षेत्र र शिविर क्षेत्र भएकाले पहिलो चरणमा त्यहीअनुसार काम अगाडि बढाइएको खानेपानी संस्थाका अध्यक्ष रावलले बताए ।

६० करोड ६९ लाख तीन हजार रुपैयाँ लगानीमा निर्माण हुनलागेको आयोजनाको ठेक्का टुडी कन्ट्रकशनले पाएको छ । कूल लागतको ८५ प्रतिशत रकम एडिबीले सहयोग गरेको छ भने बाँकी १५ प्रतिशत नगरपालिकाले लगानी गरेको छ । आयोजनाले दुई क्षेत्रमा काम  गर्दै आएको शहरी खानेपानी तथा सरसफाइ आयोजना क्षेत्रीय आयोजना व्यवस्थापन कार्यालय पश्चिम क्षेत्र आयोजना कार्यान्वयन समूहका परामर्शदाता अरुण रोस्याराले जानकारी दिए । 

“ढल निकास र मानव मलमूत्र व्यववस्थापन गरी दुई क्षेत्रमा काम भइरहेको छ ।” परामर्शदाता रोस्याराले भने, “दुई कार्यक्रममध्ये मानव मलमूत्र व्यवस्थापन कार्यक्रम एक वर्षमा र ढलको नाली निर्माणको काम दुई वर्षमा सक्ने गरी ठेकेदार कम्पनीसँग सम्झौता भएको छ ।” उनले सन् २०२० डिसेम्बरमा ठेकेदार कम्पनीसँग आयोजनाको सम्झौता भएको बताउँदै समयमै काम सम्पन्न हुने गरी नै काम अगाडि बढाइएको बताए ।

मानव मलमूत्रको व्यवस्थापनले पदूषणलाई कम गर्दै जैविक मल उत्पादनमा सहयोग पुग्ने छ । अहिले नागरिकको शौचालयको सेफ्टी ट्याङ्कीमा जम्मा भएको मलमूत्रलाई प्रविधिको प्रयोग गरी मल उत्पादन गरिने टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले बताए । जसले प्राकृतिक पदूषणलाई रोक्नुका साथै जैविक मल उत्पादनमा टेवा पु¥याउने विश्वास गरिएको छ ।